जनकपुर। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीमण्डल पुनर्गठनसँगै मधेस प्रदेशमा सत्ता गठबन्धन दलमा खटपट सुरु भएको छ।
मुख्यमन्त्री यादवले हिजो (सोमबार) सत्ता गठबन्धन दलमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रलाई दुई मन्त्रालय दिँदै सरकारमा भित्र्याएका हुन्। लोसपाबाट रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुशवाहालाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि दलहरूबीचमा खटपट सुरु भएको हो।
यसअघि मन्त्रीमा नियुक्त भएका जंगीलाल राय यादव र कनिश पटेललाई पनि मन्त्रालय तोकिएको छ। यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या र पटेललाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिएपछि सरकारमै सहभागी जनमत पार्टीले असन्तुष्टि जनाएको हो।
जनमत पार्टीका प्रदेश सभा सदस्य एवं पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमा सरकार छाड्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्‚ “मधेस प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ। यस आर्थिक वर्षमा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत दशौँ हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौँ। तर भागबन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्नु हो।”

सतिशकुमार सिंहको नेतृत्वको मन्त्रीमण्डलमा कुशवाहा यही मन्त्रालयको जिम्मेवारीमा थिए। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा जनमतले दाबी गर्दै आएको थियो। कुशवाहले सामाजिक सञ्जालमा लेखेका छन्‚ “जनमत पार्टीको उद्देश्यबमोजिम सरकारमा सुनिश्चिता नभए मधेस प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनुपर्छ।”
सत्ता गठबन्धन दलको हिजो (सोमबार) बसेको बैठकले हरेक पार्टीबाट एक-एक जनालाई मन्त्री बनाउने सहमति गरे पनि जसपाले भौतिक पूर्वाधार तथा सभामुख आफूले पाउनुपर्ने दाबी गर्दै सरकारमा सहभागी भएन। यसले पनि सत्ता गठबन्धनमा मन्त्री र भागबन्डालाई लिएर असन्तुष्टि देखिएको छ।
लोसपाबाट रानी शर्मा तिवारीलाई मन्त्री बनाएपछि उनको पार्टीभित्र पनि कलह सुरु भएको छ। पार्टीभित्रको असन्तुष्ट पक्षले सामाजिक सञ्जालमा तिवारीको विरोध गर्न थालेका छन्।
यो पनि…