काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

काठमाडौँ। सेनाका ६ उपरथीको सरुवा भएको छ। जंगी अड्डाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीन पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको हो।

पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की सैनिक मुख्यालयमा सरुवा भएका छन्। पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई पठाइएको छ। मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रबन्ध रथी विभाग जंगीअड्डा पुगेका छन्।

मध्यपृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ। खड्का यसअघि जंगी अड्डाको अतिरिक्त समूहमा थिए।

मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनलाई जंगीअड्डा सरुवा गरिएको छ। त्यहाँ उपरथी हिम्मतबहादुर विष्टलाई पठाइएको छ। विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा थिए।

सेनाका आठ पृतनामध्ये बाँकी पाँच वटाका पृतनापति यथावत् छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी‚ उत्तर-पश्चिम पृतनामा दीपेशजंग शाह‚ मध्यपूर्व पृतनामा कृष्णबहादुर जीसी‚ पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रवीन्द्र खत्री छन्।