भोजपुर। जिल्लाका विभिन्न भागमा लुकीछिपी गरिएको गाँजाखेती फँडानी भएको छ। प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत हालसम्म एक लाख ३९ हजार ३५ बोट उखेलेर फालेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाका अनुसार एक हजार ५५६ केजी तयारी गाँजासहित १४ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्लाका विभिन्न स्थानमा पुगेर एक लाख ३० हजार ४८५ गाँजाको बोट र आठ हजार ५५० बोट बेर्ना नष्ट गरिएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पौवादुङ गाउँपालिकामा आयोजित कार्यक्रममा यही १२ असारसम्म जिल्लाभर सप्ताहव्यापी रूपमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिने जानकारी दिए।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालय, स्थानीय समुदाय तथा सरोकार भएका निकायहरूसँग सहकार्य गर्दै लागुऔषध दुरुपयोग नियन्त्रणसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिने जनाइएको छ।