काठमाडौँ। बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ।
छुनुमुनुमा एकवर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १११ रुपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपीलगाएर सम्मान गरिएको हो। सम्मान कार्यक्रममा छुनुमुनुका अध्यक्ष युवा रङ्गकर्मी राजन भुजेलले आ-आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको बताए। छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रङ्गकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए।

सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे। अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रङ्गकर्मी शर्माले उन्नत समाजमा सधैँ कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे।
कार्यक्रममा छुनुमुनुको एकवर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए। उनीहरूलाई कोर्स पूरा गरेको अवसरमा दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको थियो।