काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। श्रीमतीको हत्या गरेको आरोपमा अर्घाखाँचीमा श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्यूठान नौबहिनी गाउँपालिका-१ घर भई अर्घाखाँची छत्रदेव गाउँपालिका-४ पातलेपोखरा बस्ने ३६ वर्षीय किरण गुरुङ रहेका छन्।

उनलाई ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या आरोपमा सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।

शर्माका अनुसार सुमित्रा गत भदौ ११ गतेदेखि सम्पर्कविहीन थिइन्। माइती पक्षले सोमबार प्रहरीमा प्रहरी चौकी बल्कोटमा उजुरी दिएपछि प्रहरी घरमा पुगेको थियो।

प्रहरी घर पुग्दा भान्साकोठाबाट शवको गन्ध आएपछि प्रहरीले खोतलेर शव निकालेको शर्माले बताए। किरणले ११ गते राति १२ बजे श्रीमतीको हत्या गरी भान्साकोठामा शव पुरेको उनले बताए। हत्या गर्नुको कारण भने खुलिसको छैन।

शर्माका अनुसार किरणले राति श्रीमतीको टाउकोमा हँसियाको पछाडिको भागले हिर्काएर हत्या गरेको स्वीकारेका छन्। घटनाअघि दुबै जनाबीच वादविवाद भएको थियो। उनीहरूले १० वर्षअघि बिहे गरेका थिए। उनीहरूकी ९ वर्षकी एक छोरी छ्न्।

शव पोस्टमार्टमको लागि अर्घाखाँची जिल्ला अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलबाट बाँसको लाठी, हँसिया, गैंची, बेल्चा, कोदालो बरामद गरेको छ।
पक्राउ परेका गुरुङलाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले बताए।