काठमाडौँ। सिन्धुलीमा आमा-छोरी मिलेर पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको खुलेको छ।
प्रहरीका अनुसार बुहारीको हत्या गरेको आरोपमा हरिपुरगढी गाउँपालिका-४ घर भई हाल कमलामाई नगरपालिका-४ बस्ने ५९ वर्षीया सासु माया रानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा बम्जन पक्राउ गरेका छन्।
सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटना ६ पुस २०८२ अपराह्न साढे ४ बजेको हो। ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको बीचको तलास्थित भान्साकोठामा जलेर मृत्यु भएको अवस्थामा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको शव फेला परेको थियो। घटनास्थलमा दुर्गामान बम्जन घाइते अवस्थामा फेला परेका थिए।
भान्साकोठाको पलङको केही भागसमेत जलेको अवस्थामा फेला परेको थियो। दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको अवस्थामा फेला परेका दुर्गामानको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।
अनुसन्धान गर्दै जाँदा घटनामा आमा-छोरी मिलेर बुहारीमाथि पेट्रोल छर्केर आगो लगाएको खुलेको प्रहरी उपरीक्षक सुवेदी बताउँछन्।
“घटनास्थलबाट दुई बोतल पेट्रोल र जलेको अवस्थामा बोतलको पिँधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरेर राखेको अवस्थामा राँको (पुल्ठो) फेला परेको थियो,” प्रहरी उपरीक्षक सुवेदीले भने, “घटना शंकास्पद देखेर आमा-छोरीलाई पक्राउ गरिएको थियो।”
सुवेदीका अनुसार सोधपुछको क्रममा पक्राउ परेकी मीनाले बुहारी सुशीलालाई पेट्रोल छर्केर आगो लगाएको बताएकी छिन्। सुशीलाका श्रीमान् विदेशमा छन्।
“बयानका क्रममा आमा छोरीले पेट्रोल खन्याएर आगो लगाएको स्वीकार गरेका छन्, पारिवारिक बेमेलका कारण आवेगमा आगो लगाएको बताएका छन्,” सुवेदीले भने।
बुहारीमाथि आगो लागेको थाहा पाएपछि बरन्डामा बसिरहेका ससुरा दुर्गामान निभाउन गएका थिए। त्यसक्रममा उनी आफैं जलेको सुवेदीले बताए।
पक्राउ परेका दुबैलाई कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत सिन्धुलीबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको सुवेदीले बताए।