काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। गत ६ पुसको घटनालाई लिएर शान्ति सुरक्षाको स्थिति बिग्रिएपछि सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार राति साढे ८ देखि शुक्रबार बिहान ६ बजेसम्म उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु आदेश कमलामाई नगरपालिका ४ भित्र पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुरा बजार क्षेत्रमा लागू गरिएको छ।

श्रेष्ठका अनुसार कर्फ्युको समयमा सर्वसाधारण तथा अत्यावश्यकबाहेक सवारीसाधनको आवतजावत, जुलुस र भेलाजन्य कार्यहरू निषेध गरिएको छ। पाँच जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ।

६ पुसमा धुराबजारमा आमाछोरी मिलेर पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेका थिए। उक्त घटनालाई लिएर बिहीबार स्थानीयले मृतकको घरमा ढुंगामुढा गरेका थिए। परिस्थिति नियन्त्रणबाहिर जाने देखिएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

यो पनि…

सिन्धुलीमा आमा-छोरीले आगो लगाएर गरे बुहारीको हत्या

प्रहरीका अनुसार मृतक महिलाका देवर बिहीबार दिउँसो घटना भएको घरमा आफ्नो लुगा लिन पसेका थिए। स्थानीयले उक्त घर सिल नगरेको आरोप लगाउँदै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरी घरमा ढुंगामुढा गरेका थिए।

प्रहरीका अनुसार बुहारीको हत्या गरेको आरोपमा हरिपुरगढी गाउँपालिका ४ घर भई हाल कमलामाई नगरपालिका ४ बस्ने ५९ वर्षीया सासू मायारानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा बम्जन पक्राउ परेका थिए।

सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार ६ पुस २०८२ अपराह्न साढे ४ बजे घटना भएको थियो। ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको बीचको तलास्थित भान्साकोठामा जलेर मृत्यु भएको अवस्थामा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको शव फेला परेको थियो। घटनास्थलमा दुर्गामान बम्जन घाइते अवस्थामा फेला परेका थिए।

भान्साकोठाको पलङको केही भागसमेत जलेको अवस्थामा फेला परेको थियो। दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको अवस्थामा फेला परेका दुर्गामानको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।

अनुसन्धान गर्दै जाँदा घटनामा आमाछोरी मिलेर बुहारीमाथि पेट्रोल छर्केर आगो लगाएको खुलेको प्रहरी उपरीक्षक सुवेदी बताउँछन्। मृतकका श्रीमान् विदेशमा थिए। बुहारीको चालचलन र आचरणमा प्रश्न उठाउँदै आएका आमाछोरीले त्यसदिन बुहारीलाई पेट्रोल छर्केर आगो लगाएका थिए।