तुलसीपुर(दाङ) । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गामध्ये ४०८ बिघा जग्गामा मोही रहेको पाइएको छ ।
देउखुरीको एक हजार ३३७ बिघा जग्गामध्ये ४०८ बिघा जग्गामा मोही रहेको पाइएको कूलसचिब माधव अधिकारीले जानकारी दिए । यसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमित १६८ बिघा जग्गामध्ये ८३ बिघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा एक हजार १३२ बिघा जग्गामध्ये ३०६ बिघा जग्गामा मोही रहेको छ ।
यस्तै गढवा गाउँपालिकाको गोवरहियामा ३६ बिघा जग्गामध्ये १८ बिघा जग्गामा मोही लागेको छ । यसमा केही मोहीको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ताअनुसार भिडाउन आवश्यक रहेको उनले बताए ।
केही मोही बेपत्ता भएको भन्ने भनाइ रहेको कारण जग्गाधनी प्रमाण पुर्जामा रहेका मोही र क्षेत्रफल फरक हुने सक्ने अवस्था रहेको उनको भनाइ छ ।
विसं २०६९ मङ्सिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांश मोही जग्गा छाडी अन्यत्र गएका भनी मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ ।
देउखुरीको सबै जग्गा अतिक्रमणमा छ । सोही जग्गा विश्वविद्यालयलाई सञ्चालनका लागि भनेर दाताले सहयोग गरेका थिए । २०५८ सम्म त्यो जग्गाबाट आयस्तासमेत आउँथ्यो । त्यस बेला देउखुरीमा गोदाम घरसमेत थिए । तर, अहिले आयस्ता आउने गरेको छैन ।
देउखुरीमा हाल १२ बिघा जग्गा तेरो मेरोका कारणले नाममा आउन सकेको छैन । हाल गढवामा आठ बिघा र सतबरियामा चार बिघा जग्गा तेरोमेरो भनेर दर्ता भएको छैन ।
तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डीमा पनि ३२६ बिघा जग्गा छ । जुन जग्गामा मोही छैन । तर, २० बिघा जति सोही ठाउँको जग्गा पनि अतिक्रमणमा परेको छ ।
कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई जग्गा दिएपनि ८०० बिघा जग्गा विश्वविद्यालयसँगै रहन्छ । त्यो जग्गा लिजमा दिएमा विश्वविद्यालयको आम्दानी बढ्ने उनको भनाइ छ ।
देउखुरीमा २०१० सालमा मजगैया परिवारले उच्च शिक्षाको प्रोत्साहन गर्दै उक्त जग्गा दान गरेका थिए । जसमा १२ खण्डमध्ये एक खण्डमा महादेवा मन्दिरको पुजाआजा गर्ने र ११ भागको आयस्ताबाट विद्यालयको पठनपाठन गर्ने कार्य गरिएको थियो । तत्कालीन अवस्थामा जनता विद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा दान गरिएको थियो । २०२८ मा उक्त जग्गामा नाप नक्सा भयो र २०४५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा नामसारी भएको थियो ।
त्यस्तै विसं २०२७ मा विश्वविद्यालय रहेको बेलझुण्डीमा साविक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटकालागि सरकारले यही वर्षको चैत मसान्तसम्म जग्गा बाँडफाँटकालागि निवेदन दिने सूचनासमेत जारी गरेको छ । सोही निवेदनका आधारमा ०८३ साल असारमसान्तसम्म टुङ्गोमा लगाइसक्ने गरी सूचना जारी गरेको हो ।
विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनका लागि भनेर पटक–पटक छलफल बहस हुने गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन ।
जग्गा तथा सम्पत्ति खोजविनका लागि उच्च अदालतका पूर्वन्यायाधिश शेखरप्रसाद पौडेलको नेतृत्वमा समिति बनेको थियो । त्यो समितिले नौ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनका लागि सरकारी संयन्त्रसमेत बनेको छ ।