सिरहा। जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका ३‚ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए।
सूचना अधिकारी पालले घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत २ वैशाखमा आफ्नै घर सल्काई आत्महत्या गरेकी जानकारी दिए। उनका अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजी तीव्र बनाएको थियो।
खोजीका क्रममा फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा यही ९ पुसमा इलाका प्रहरी कार्यालय महेशपुरपाटार सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल-भारत सीमानजिक नवाजपुर गाउँपालिका ३‚ झाँपडीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए।