काठमाडौँ। ब्रिजिट बार्डोट फाउन्डेसनका अनुसार प्रसिद्ध फ्रान्सेली सिनेमा अभिनेत्री तथा गायिका ब्रिजिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ।
फाउन्डेसनद्वारा जारी विज्ञप्तिअनुसार उनको मृत्यु कहाँ र कसरी भयो भन्ने विस्तृत उल्लेख नगरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
ब्रिजिट एनी-मारी बार्डोटको जन्म २८ सेप्टेम्बर १९३४ मा पेरिसमा भएको थियो।
उनले १९५६ को ‘एन्ड गड क्रिएटेड वुमन’ सहित धेरै फ्रान्सेली हिट सिनेमामा अभिनय गरिन्।

‘बिबी’ नामले प्रसिद्ध बार्डोट १९५० को दशकमा यौन मुक्तिको प्रतीक बनिन्। उनी लगभग ५० चलचित्रमा अभिनय गरेको समाचारमा जनाइएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रिजिट बार्डोटको मृत्युमा शोक व्यक्त गरेका छन्।
“उनका फिल्महरू, उनको आवाज, उनको पौराणिक प्रसिद्धि, उनको पीडा र जनावरहरूप्रतिको उनको जोश… ब्रिजिट बार्डोटले स्वतन्त्रताको जीवन बिताइन्,” म्याक्रोनले सम्झिएका छन्।