काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

रवि-कुलमान एकता

सहमति-पत्रमा रास्वपाका सभापति रवि र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतासम्बन्धी सातबुँदे सहमति भएको छ।

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित दुवै दल एकतामा सोमबार सहमत भएका हुन्।

सहमति-पत्रमा २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनसहित विभिन्न जनआन्दोलनका सहिद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ। घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सहमतिअनुसार उनेपा र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति‚ योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना‚ भ्रष्टाचारप्रति शून्यसहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक-सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।

एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झन्डा र चुनाव चिह्न साबिककै (घण्टी) रहनेछ। सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने‚ उपसभापतिमा कुलमान घिसिङ‚ डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ।

सहमति-पत्रमा रास्वपाका सभापति रवि र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह साक्षीका रूपमा छन्। यसअघि बालेन पनि रास्वपामा समाहित भएका थिए।

सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र (बालेन) शाह रास्वपाको संसदीय दलको नेता र पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्। यस्तै कुलमान घिसिङलाई रास्वपामा रविपछिको वरीयता दिइएको छ।