लौकही गोली काण्ड

१७ पुष २०८२
विजयको मृत्युपछि स्थानीयले सडक अवरोध पारेर कोसी गाउँपालिका-१ लौकहीमा गरेको प्रदर्शन। तस्बिर सौजन्य : सोनुकुमार दास
अ+
अ-

विराटनगर। सशस्त्र प्रहरीको गोली लागेर कोसी गाउँपालिका १‚ सुनसरीका ४५ वर्षीय विजय साहको मृत्यु भएको घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहीबार सुरक्षा निकाय, जनप्रतिनिधि र पीडित पक्षबीच भएको वार्तापछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्ने सहमति भएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत सदस्य छन्। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

यो पनि…

सशस्त्रको गोलीले विजय अस्ताएपछि तनावग्रस्त लौकही बजार

वार्तामा छानबिन समितिको प्रतिवेदनले सुरक्षा अधिकारीको लापरबाही देखाएमा प्रचलित कानुनअनुसार राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ। साथै मृतक विजयकी पत्नीलाई रोजगारीको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने तथा मृतकका छोराले इच्छा राखे सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार भर्ना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण गर्ने बुँदामा पनि सहमति जुटेको छ।

वार्तामा सहभागी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले छलफल सकारात्मक रूपमा टुंगिएको र पीडित पक्षका मागलाई राज्यका तर्फबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिए।

बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गर्दा सशस्त्र प्रहरीको गोली लागेर विजयको मृत्यु भएको थियो। उनको मृत्युपछि बिहीबार दिनभरजसो लौकही क्षेत्र तनावग्रस्त बन्यो। सहमतिसँगै पीडित पक्षले शव उठाएर पोस्टमार्टमका लागि लैजान र आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमति जनाएका छन्। तर, अहिले पनि लौकही क्षेत्रमा स्थानीयले भने प्रदर्शन जारी राखेका छन्।

यस्तो भयो सहमति :