काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२० पुष २०८२
अ+
अ-

जनकपुरधाम। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकारको क्रियाकलापले समयमै निर्वाचन हुन्छ भन्नेमा शंका रहेको बताएका छन्। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले अहिले पनि लुटिएका हतियार र फरार कैदीहरू बाहिर रहेका कारण शान्ति सुरक्षाको प्रश्न रहेको भन्दै यस्तो अवस्थामा निर्वाचन सम्भव नरहेको जिकिर गरे।

उनले भने, “अहिलेको अवस्थामा निर्वाचन हुन्छ भन्नेमा आशंका छ। तर पनि निर्वाचन भयो भने नेकपा एमाले निर्वाचनबाट भाग्दैन।”

महासेठले संघीयता गणतन्त्र र वर्तमान उपलब्धिको रक्षाका लागि सबै लोकतान्त्रिक पक्षधर शक्तिहरूबीच एकता आवश्यक रहेको पनि बताए। उनले आफूलाई प्रगतिशील भन्नेहरू अहिले जनतालाई भ्रमित पार्ने काममा लागेको आरोप लगाउँदै उनीहरूलाई जनताले आउने निर्वाचनमा पाठ सिकाउने समेत बताए।

महासेठले गैरदलीय सरकारकै मन्त्रीहरूले दलमा पदको बाँडफाँट गर्ने, प्रधानमन्त्रीको पद बाँडफाँट गर्नेजस्ता काम गरिरहेकाले यस्ता क्रियाकलापबाट वर्तमान सरकारको गैरदलीय चरित्र उदांगो भएको पनि बताए। गैरदलीय सरकारमा रहेका त्यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले अविलम्ब बर्खास्त गर्नुपर्ने समेत उनको माग छ।