काठमाडौं। नेपाल टेलिकमले सरकारको निर्देशनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको आदेश कार्यान्वयन गर्दै टेलिकमले आज फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जालहरू बन्द गरेको हो।
बिहीबार मात्र सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै दर्ता नभएका सामाजिक सञ्जालहरू तत्काल बन्द गर्न भनेको थियो। सोहीअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आवश्यक निर्देशन दिएको थियो। यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको सूचना जारी गरिसकेको छ ।
सरकारले सामाजिक सञ्जालहरूको सूचीकरणका लागि भदौ १२ गते एक साताको अन्तिम समयावधि तोकेको थियो। सो अवधि बुधबार सकिएसँगै नियम विपरीत रहेका प्लेटफर्महरूलाई प्रतिबन्धित गर्ने प्रक्रिया सुरु गरिएको हो।