अतिविपन्न, एकल तथा अशक्त महिलालक्षित परियोजनाले राहत
घर त थियो, तर नाम मात्रको। गढवा गाउँपालिका–५, कक्रहवाकी जिविका विश्वकर्मा र उनको परिवार हिउँदमा सधैँ कठ्याङ्ग्रिएर बस्न बाध्य थिए। हावाहुरीमा झन् छानै उडाउने डर, बर्खामा पानी चुहिएर हैरान।
श्रीमान् पर्शुराम विश्वकर्माले मजदूरी गरेरै भए पनि घर बनाउने सपना देखेका थिए। तर बिरामी परेर उपचार अभावमा उनको निधन भयो। त्यसपछि दुई सन्तानको जिम्मेवारी बोक्दा बोक्दै जिविकाको घर बनाउने सपना अधुरै रह्यो। “गतिलो घर नहुँदा सन्तान पनि पढ्न जाँगर गर्दैनथे,” विगत सम्झिँदै जिविकाले भनिन्।
तर एकदिन जिविकाको जीवनमा नसोचेको मोड आयो। ग्रामीण महिला उत्थान केन्द्रले उनको परिवारका लागि दुईकोठे पक्की घर र शौचालय बनाइदियो। झुपडीबाट भूकम्पप्रतिरोधी घरमा सरेकी जिविका भन्छिन्, “मैले कल्पनासमेत नगरेको घर आज पाएकी छु। अब बल्ल सन्तानको भविष्य बनाउने आँट आएको छ।”
यस्तै पीडा थियो गढवा गाउँपालिका–२, महादेवाकी इलावती चौधरीको। टहरोजस्तो घरमा पानी चुहिँदै रात बिताउन बाध्य चौधरी अब यो समस्याबाट मुक्त भएकी छन्। ग्रामीण महिला उत्थान केन्द्र र स्थानीय पालिकाको सहकार्यमा इलावतीका लागि दुईकोठे भूकम्पप्रतिरोधी घर बनेको छ। इलावतीका अनुसार ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले उनलाई स्नातकसम्म पढाउन सहयोग गर्ने प्रतिबद्धतासमेत दिएकी छन्।
एक दशक अरूको घरमा आश्रित भई बसेकी प्रमिला चौधरीको परिवारले पनि महिला उत्थान केन्द्रले, निवास संस्था र गढवा गाउँपालिकाको साझेदारीमा पक्की घर पाए। “हामी आफ्नै घरमा बसौँला भन्ने आशा मारिसकेको थियौँ,” उनले भनिन्, “तर, अहिले आफ्नै घरमा बसिरहेका छौँ।”

ग्रामीण महिला उत्थान केन्द्रले निर्माण गरेको शौचालय सहितको दुईकोठे घर। तस्बिर : सन्तोष दहित
महिला उत्थान केन्द्र, राजपुर गाउँपालिका र निवास संस्थाको सहकार्यमा राजपुर गाउँपालिका–१, टबडरापुरकी निर्मला चौधरीले पक्की घर पाएकी छन्। “जिन्दगीमा यस्तो घर बन्छजस्तो लागेको थिएन,” उनले भनिन्, “घर बनेपछि छोरीहरू मन लगाएर पढ्न थालेका छन्।”
सोही गाउँपालिकाको वडा नम्बर २ बेलाकी कैलाशपति चौधरीले पनि जोखिमपूर्ण घरम वर्षौं बिताएपछि महिला उत्थान केन्द्रको सहयोगमा दुईकोठे पक्की घर पाएकी छन्।
केन्द्रकी अध्यक्ष चौधरीका अनुसार अतिविपन्न, एकल तथा अशक्त महिला र १६ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै सुरक्षित आवास परियोजना सञ्चालन गरिएको हो। केन्द्रले गढवा र राजपुर गाउँपालिका तथा निवास संस्थाको साझेदारीमा यस वर्ष ६ परिवारका लागि दुईकोठे भूकम्पप्रतिरोधी घर र शौचालय निर्माण गरिदिएको छ।
“गत वर्ष गढवा र राजपुरमा चार-चारवटा घर निर्माण गरेका थियौँ,” उनले भनिन्, “यो वर्ष तीन-तीनवटा गरेर जम्मा १४ वटा घर निर्माण गरी विपन्न परिवारका समुदायलाई हस्तान्तरण गर्यौँ।”
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा सुरक्षित आवास परियोजनाले विपन्न तथा एकल महिलाको जीवनयापन र बालबालिकाको शिक्षामा सहयोग पुर्याएको बताउँछन्। उनले आगामी वर्षमा पनि सुरक्षित आवास कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने बताए। “यो काम सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो, जसले गरिबी र असहाय अवस्थाविरुद्ध सामुदायिक सशक्तीकरणको भावना जागृत गरेको छ।”
त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकी पनि सुरक्षित आवास परियोजनाले बालबालिकाको शिक्षा र जीवनयापनमा सहजता ल्याएको बताउँछन्।