सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव सिफारिस प्रक्रियाअन्तर्गत प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक भएको छ।
सामाजिक विकास मन्त्रालयले ९ मंसिर २०८२ मा परिषद्को सदस्य-सचिवको पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको थियो। दरखास्तबमोजिम आवेदन दिएका उम्मेदवारहरूमध्ये १० जना प्रारम्भिक छनोटमा परेका छन्।
मन्त्रालयका अनुसार सदस्य-सचिव पदका लागि २१ जनाले आवेदन दिएका थिए। ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव छनोटसम्बन्धी मापदण्ड‚ २०८२’ को दफा ७ बमोजिम उम्मेदवारहरूले स्वयं प्रमाणित गरी पेस गरेका शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी कागजातहरूको मूल्याङ्कनपछि सूची सार्वजनिक गरिएको हो। सोही मूल्याङ्कनका आधारमा ऐनको दफा ७ को उपदफा (७) अनुसार प्रारम्भिक योग्यताक्रमको सूची तयार गरिएको मन्त्रालयले जनाएको छ।
वर्णानुक्रमअनुसार प्रारम्भिक योग्यताक्रममा पर्ने उम्मेदवारमा जुम्लाका चेतनराज गिरी‚ दैलेखका जगतप्रसाद रिजाल‚ सुर्खेतका दीपक हमाल र दिलीप बस्याल छन्। यस्तै कालीकोटका पंखबहादुर मल्ल‚ दैलेखका पवनकुमार थापा‚ सुर्खेतका प्रभात थापा‚ प्रमोद हमाल र रवीन्द्र चन्द तथा दैलेखकी हेमा खड्काको नाम सार्वजनिक भएको छ।
प्रारम्भिक योग्यताक्रममा समावेश भएका उम्मेदवारहरूको अन्तर्वार्ता ३ माघमा तोकिएको छ।
६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो। प्रदेश सरकारले परिषद् रिक्त भएको एक वर्षपछि सदस्य-सचिव नियुक्तिको प्रक्रिया अघि बढाएको हो।