३ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। झापामा सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन्।

बितेका ६ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ।

चालु आर्थिक वर्षको प्रथम ६ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएका र त्यसबाट एक हजार ९७ जना घाइते भएका उक्त कार्यालयका प्रमुख सन्तोष राईले बताए । उक्त अवधिमा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । घाइतेमध्ये ५५ जना गम्भीर र एक हजार ४२ जनाको अवस्था सामान्य छ ।

सडक दुर्घटना घटाउन ट्राफिक प्रहरीले समुदायसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । एसियाली राजमार्गको स्तरोन्नति भइरहँदा सडकको अवस्था नाजुक बनेको छ ।

यस्तो सडकमा लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढेका कार्यालय प्रमुख राई बताउँछन्। गत पुसमा ६ हजार ५२५ वटा सवारी साधन जाँच दुई हजार ४४५ वटा सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गर्नुपरेको थियो।

पुसमा १२० स्थानमा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु र १७३ जना घाइते भएका थिए। पुसमा ७३ जना घाइतेलाई दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएको थियो।

मङ्सिरमा १२२ स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो। कात्तिकमा ११८ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताए।

यसैगरी, असोजमा ९० मा, भदौमा ६३ र साउनमा ९२ स्थानमा सवारी दुर्घटना हुँदा क्रमशः ६, ४ र ३ जनाको मृत्यु भएको थियो। पुस महिनामा भएको १२० वटा दुर्घटनाको विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको बता ।

पुसमा १११ स्थानमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही पाइएको उनले जानकारी दिए।