काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र जाँचपासका लागि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि-२०८२’ जारी गरेको छ।
समितिले गत २ पुसदेखि लागु गरेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि-२०८२’ लाई चलचित्रकर्मीले असहमति जनाएपछि संशोधन गर्दै गत ३० पुसमा नयाँ कार्यविधि ल्याएको हो।
नयाँ कार्यविधि चलचित्र काँटछाँटभन्दा वर्गीकरण गर्ने उद्देश्यसहित ल्याइएको चलचित्रकर्मीले बताएका छन्। “हामी सरोकार भएका चलचित्रकर्मीले चलचित्र क्षेत्रको दीर्घकालीन हितलाई केन्द्रमा राखी छलफलका क्रममा वि.सं २०२६ को चलचित्र ऐन र वि.सं २०५७ को नियमावलीले निर्धारण गरेको कानुनी संरचनाभित्र रही चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्था गर्नुपर्ने व्यावहारिक र कानुनी अप्ठ्याराको गहिरो समीक्षा गरिएको थियो। तत्काल कानुन संशोधन सम्भव नभएको वर्तमान अवस्थामा उपलब्ध कानुनी सीमाभित्र रहेर अधिकतम सुधार गर्न सकिने दायरामा यो कार्यविधि तयार गरिएको हो‚” सरोकार भएकाको समूहले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघिको कार्यविधिमा सुझाव दिने चलचित्रकर्मीमा नवीन सुब्बा‚ खगेन्द्र लामिछाने‚ मनोज पण्डित‚ दीपेन्द्र के खनाल‚ निश्चल बस्नेत‚ रौनकविक्रम कँडेल‚ रवीन्द्रसिंह बानियाँ‚ जनकदीप पराजुली‚ सुरेन्द्र थापा छन्।
बानियाँले संवाद‚ सहकार्य र जिम्मेवार पहलमार्फत मन्त्रालयले देखाएको अग्रसरता स्वागतयोग्य रहेको बताए। उनले भने‚ “चलचित्रको वर्गीकरण प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप आधुनिक‚ वैज्ञानिक र समयसापेक्ष बनाउने विषय आगामी नयाँ चलचित्र ऐनमार्फत कानुनी रूपमा सुनिश्चित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। यही आश्वासनका आधारमा हामीले चलचित्र जाँच तथा वर्गीकरण कार्यविधिलाई हालका लागि सहमति जनाएका छौँ।”
उनले हालका कानुनी सीमाभित्र अधिकतम सुधार र भविष्यमा समयसापेक्ष कानुनी संरचनाको प्रतिबद्धतासहित आएको कार्यविधिले चलचित्रकर्मीलाई राहत दिएको धारणा राखे। -रासस