काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले आतइबार उच्च हिमाली तथा पहाडी जिल्लाहरूमा प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गर्ने भएको छ।

काठमाडौँबाट नजिकका पहाड, तराई र उपत्यकाको सिफारिस भने टुंगिने सम्भावना कम रहेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

शिवाकोटीका अनुसार बाबुरा, दार्चुला, ताप्लेजुङ, अछाम, दैलेख, मनाङ, मुस्ताङलगायत जिल्लाको सिफारिसबारे सभापति गगन थापा नेताहरूसँग छलफलमा छन्। थापा निवर्तमान सभापति शेरबहादुर देउवासँग समेत छलफलमा छन्।

“सकेसम्म पार्टीको सबै पक्षलाई समेटेरै जाने, न्यायोचित रूपमा टिकट वितरण गर्ने उद्देश्यका साथ सभापतिले निवर्तमान समापतिसँग कुरा गरिराख्नुभएको छ,” शिवाकोटीले भने, “सोमबारसम्ममा काठमाडौँ उपत्यकासहित सुगम ठाउँको उम्मेदवारी टुंगो लाग्छ।”

प्रत्यक्षतर्फको टिकट वितरणका लागि थापाले आफ्नै नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेका छन्। उक्त बोर्डले देउवा, कोइराला पक्षलाई समेटेर उम्मेदवार सूची बनाउने छ।

६ माघसम्म प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा पठाउनुपर्ने कार्यतालिका छ।

सभापति थापा तेहोरो दबाबमा छन्। निवर्तमान सभापति पक्षले आधिकारिकताको विवाद सर्वोच्च अदालतमा पुर्‍याएको छ। निर्वाचन आयोगले शुक्रबार आधिकारिकता थापा पक्षलाई दिएको थियो। थापा बिहीबार मात्रै विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए।

थापालाई आफ्नै समूहमा टिकट वितवरण टुंगो लगाउन सकस परिरहेको छ। केही निर्वाचन क्षेत्रमा दुई वा दुईभन्दा बढी नेताहरूको दाबी रहेकाले टिकटको झमेला टुंग्याउन थापासहितका नेताहरू लागिरहेका छन्।

“मोरङको क्षेत्र नम्बर ४ मा पुराना नेता महेश आचार्य र अहिलेका महामन्त्री गुरुराज घिमिरे दुबैको दाबी छ,” थापानिकट स्रोतले भन्यो, “यस्ता केही निर्वाचन क्षेत्रमा दुई वा दुईभन्दा बढीको दाबी छ।”

थापा पक्षको अर्को दबाब भने कांग्रेसभित्र रहेको मध्यमार्ग समूह हो। मध्यमार्गी समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता शेखर कोइराला कुनै पक्षमा स्पष्ट खुलिसकेका छैनन्।

उनले देउवा पक्षलाई पूर्ण समर्थन गरिसकेका छैनन्। निर्वाचन तथा पार्टीमा उत्पन्न समस्यापछि के गर्ने भन्ने विषयमा उनले आफूपक्षीय समूहको भेला आइतबार नै बत्तीसपुतलीमा राखेका छन्। कोइराला के गर्छन् भन्नेबारे भेलापछि टुंगो लाग्ने बताइएको छ।