काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीति थालेका बालेनले आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्‌वार हुनका लागि महानगरको मेयरबाट राजीनामा दिएका हुन्। रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा ५ बाट उनले निर्वाचन लड्ने तयारी गरेका छन्।

उनले उपमेयर सुनीता डंगोललाई सम्बोधन गर्दै आइतबार राजीनामा बुझाएका हुन्।

“प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु‚” उनले राजीनामापत्रमा उल्लेख गरेका छन्‚ “यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवाप्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।”

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको ३० वैशाखमा भएको मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।