काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

५ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभा प्रत्यक्षतर्फका सबै उम्मेदवारको टुंगो आजै लाग्ने स्पष्ट पारेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टी उम्मेदवार छनोटको अन्तिम मोडमा पुगेको जानकारी दिएका हुन्।

सभापति थापाका अनुसार सीमित समय र प्रक्रियागत चुनौतीबीच पनि समावेशिता, सन्तुलन र न्यायलाई प्राथमिकतामा राखेर निर्णय गर्ने प्रयास भइरहेको छ। “हामी छनोटभन्दा सहमतिमा जोड दिइरहेका छौँ, सबै पक्षलाई समेट्ने हाम्रो लक्ष्य हो,” उनले भनेका छन्।

उनले उम्मेदवारी दर्ता र चुनावी अभियानमा पार्टीका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्। व्यक्तिगत असहमति र आन्तरिक विवाद थाँती राखेर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा उभिनुपर्ने उनको भनाइ छ।

“यो कसैको व्यक्तिगत लडाइँ होइन, कांग्रेसको साझा अभियान हो,” थापाले बताएका छन्। समयको दबाबका बीच पार्टीभित्र आवश्यक सन्तुलन कायम गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै उनले निर्वाचनलाई केन्द्रमा राखेर एकढिक्का हुन सबैलाई अपिल गरेका छन्।