काठमाडौँ। नेपाली कांग्रेसले ६५ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ।
उम्मेदवार छनोटका लागि गठन गरिएको संसदीय बोर्डले हालसम्म ६५ जिल्लामा उम्मेदवार टुंगो लगाएको प्रवक्ता देवराज चालिसेले बताए।
सभापति गगनकुमार थापा नेतृत्वमा गठित संसदीय बोर्डले काठमाडौँ उपत्यकासहित केही जिल्लाको उम्मेदवारी टुंगाउँदैछ। “उपत्यकासहित केही जिल्लाको बाँकी छ, कतिपय जिल्लामा वारेसमार्फत् उम्मेदवारी दर्ता गर्नुपर्ने अवस्था छ,” चालिसेले भने।
सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला समूहलाईसमेत समेटेर उम्मेदवार चयन गरेका छन्। मंगलबार बिहान साढे ११ बजेभित्र प्रत्यक्षतर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाउनु पर्ने कार्यतालिका छ।
निवर्तमान सभापति देउवा, उनकी श्रीमती आरजु देउवाको भने टिकट खोसिएको छ। देउवापक्षीय अन्य नेताहरूलाई उम्मेदवारीमा समेटिएको छ। यद्यपि, कांग्रेसले टुंगो लागेका उम्मेदवारको सूची प्रकाशन गरिसकेको छैन।
निर्वाचन आयोगमा सूची बुझाएपछि मात्रै सार्वजनिक गर्ने तयारी कांग्रेसको छ।