१० माघ २०८२
अ+
अ-

हारारे। दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगिएको हो। नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा सात जना वयस्क र दुई जना बालबालिकासहित नौ जनाको घटनास्थलमै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जसमा स्थानीय बासिन्दाको सक्रिय सहयोग रहेको थियो।

लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र अहिले मृतकहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानहरूमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्ला महिनाहरूमा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्रहरू प्रभावित भएका छन्। बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने देशभर सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

सरकार तथा सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रहरूमा निगरानी बढाएको र जोखिम कम गर्न आपतकालीन तयारीलाई तीव्र बनाइएको बताएका छन्।