काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा शनिबार जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल लगायतलाई पार्टीमा प्रवेश गराउँदै उनले आफूहरूलाई सरकारले दुःख दिने र अपमान गर्नतिर लागिरहेको आरोप लगाए।
सरकारले आफूलाई दुःख दिएको र अपमान गर्ने काम गरिरहेको उनको दाबी छ। झापाबाट शुक्रबार काठमाडौँ फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको उनले आरोप लगाए। उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गरे। “विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर मलाई हैरान पारियो। यो सरकार अराजनीतिक र असभ्य छ‚” ओलीले जिकिर गरे।
विमानस्थलमा आफूमाथि गरिएको व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको अध्यक्ष ओलीको भनाइ छ।
उनले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने भन्दै कार्यकर्ताहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिए।
यो पनि…
ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे । नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको ओलीको भनाइ छ ।
उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे । नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे ।
देशलाई पुन: पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि उनले जिकिर गरे।
त्यस्तै एमालेमा प्रवेश गर्दै अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न यता प्रवेश गरेको बताए । अग्रवालले पारदर्शी‚ सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको पनि उल्लेख गरे।