काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पोस्टमाथि व्यङ्ग्यात्मक टिप्पणी गर्दै सामाजिक सञ्जालको प्रयोगप्रति प्रश्न उठाएका छन्।
शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै केही तस्बिरसहित फेसबुकमा स्टाटस लेखेका थिए। उनले लेखेका थिए, “आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।”
उक्त पोस्टमाथि प्रतिक्रिया जनाउँदै मेयर शाहले टिप्पणी गरे, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ?”
उनले थप लेखेका छन्, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !”

बालेनको यो टिप्पणीसँगै देउवाको पोस्टमा इङ्गेजमेन्ट एक्कासी बढेको देखिएको छ। सामाजिक सञ्जालमा यो विषयले तीव्र चर्चा पाएको छ। कतिपयले बालेनको व्यङ्ग्यलाई राजनीतिक कटाक्षको रूपमा व्याख्या गरेका छन् भने केहीले यो टिप्पणीलाई अनावश्यक व्यक्तिगत प्रहारको रूपमा लिएका छन्।
नेपालमा पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको बीचमा नेताहरूले विदेशी भीपीएनमार्फत प्लेटफर्म प्रयोग गरिरहेको भन्ने आरोप बेलाबेलामा उठ्दै आएको छ। यस्तै सन्दर्भमा बालेनको टिप्पणी आएको हो भन्ने अनुमान लगाइएको छ।
सामाजिक सञ्जाललाई सक्रिय रूपमा प्रयोग गर्दै आएका मेयर बालेन आफ्ना चर्का भनाइ र निःसंकोच अभिव्यक्ति शैलीका लागि चिनिन्छन्। यसअघि पनि उनले विभिन्न विषयमा व्यङ्ग्यात्मक शैलीमा धारणा राख्दै आएका छन्।
बालेनको यस्तो अभिव्यक्ति डिजिटल माध्यममार्फत चलिरहेको राजनीतिक प्रतिस्पर्धा र सार्वजनिक धारणा निर्माणको उदाहरण हो। यस्ता टिप्पणीहरूले सामाजिक सञ्जालमा बहस त पैदा गर्छन्, तर राजनीतिक तहमा जिम्मेवार व्यवहारको प्रश्न पनि उठाउँछन्।