काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

महाधिवेशनमा १० समूहमा विभाजन गरिएका समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न

२२ भाद्र २०८२
गोदावरीस्थित सनराइज हलमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरु। तस्बिर : प्रकाश सिलवाल/रासस
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ ।

लतिलपुरको गोदावरीमा जारी महाधिवेशनमा १० समूहमा विभाजन गरिएका समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो । महाधिवेशनको आज तेस्रो दिन हो।

विभिन्न समूहगत नेताहरूको प्रस्तुति सकिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमती व्यक्त गरेको उनले जानकारी दिए।

प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।

गण्डकी प्रदेशका उपाध्यक्ष एवं समूहगत नेता मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरूले प्रष्ट मार्ग निर्देश गरेको बताए।
बागमती प्रदेशका अध्यक्ष एवं समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गर्नुभएको बताउँदै केही मत भने उक्त व्यवस्था हटाउनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए।

साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दैछन्। यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवासबाट भक्त गुरुङ तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयबाट शिव अधिकारी , विभागीय संरचना र केन्द्रीय निकाय आयोजकका तर्फबाट चुडामणि जङ्गलीले प्रस्तुति गरेका थिए।

समूहगत नेताको सुझावसहितको प्रस्तुतीकरणपछि प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिनेछन्। त्यसपछि सुझावसहित पार्टीको विधान पारित गरिने एमाले प्रचार विभागका प्रमुख गौतमले जानकारी दिए।

आजै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको छ। महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यतालिका रहेको गौतमले जानकारी दिए।

‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जनाको सहभागिता छ।