सुरक्षा
पूर्वडीआईजी ठकुरी भन्छन् - स्थिति नियन्त्रणमा छ भन्न मिल्दैन
काठमाडौँ। १५ माघ मध्यरात सवा १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीमा गोली चलेको आवाज गुञ्जियो। बस्ती निदाएको बेला प्रहरीले राजधानीमा तीन महिनादेखि आतंक मच्चाइरहेको संगठित लुटेरा समूहलाई लक्षित गरी गोली चलाएको थियो।
गोली लाग्ने व्यक्ति थिए–२३ वर्षीय विनय तामाङ। जेन–जी आन्दोलनका बेला वृत्त महाराजगञ्जको हिरासतबाट भागेका उनी त्यसपछि फरार अभियुक्त मात्र थिएनन्, राजधानीमा भइरहेका डकैती–लुटपाटका घटनामा बारम्बार सुनिने नाम बनिसकेका थिए।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका तामाङ २०७९ सालमा चोरी मुद्दामा पक्राउ परेर छुटेका थिए। तर, गत भदौमा डाँका मुद्दामा पुनः पक्राउ परे। प्रहरीका अनुसार फरार भएपछि उनले गिरोह नै खडा गरे। रातको समयमा गाडी तथा मोटरसाइकल प्रयोग गरेर डकैती–लुटपाट गर्नु गिरोहको दैनिकी बनेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तामाङको नेतृत्वमा रहेको गिरोह राति १० बजेदेखि साढे २ बजेसम्म स्वयम्भू, बौद्ध, गौशाला, लैनचौर, बूढानीलकण्ठ, कपन, कोटेश्वर र मूलपानी क्षेत्रमा सक्रिय हुन्थ्यो। मोबाइल, नगद, सुनचाँदी जहाँ जे भेटिन्छ, त्यही लुटपाट गरिरहेको थियो।
यो गिरोह समात्न प्रहरीले रातिनै खटिने योजना बनायो। सूचना पछ्याउँदै जाँदा अन्ततः १५ माघ राति मूलपानीमा प्रहरी र लुटेरा समूहबीच जम्काभेट भयो। गोली तामाङको खुट्टामा लाग्यो। उनीसहित १० जना पक्राउ परे। “पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो,” भट्टराई भन्छन्।
तामाङ गिरोहले मानिसको घाँटी र कानबाट सुनका गहना तानेर नगदसमेत लुटिरहेका थिए। प्रहरीका अनुसार सुनको मुन्द्रा तान्दा तीन जनाको कानको लोती नै च्यातिएको थियो। नाकको फुली तान्दा एक जना महिला अस्पताल भर्ना हुनुपरेको थियो। कतिपयको अनुहार र गलामा चोट लागेको पाइएको छ। लुटपाटकै लागि एउटा ट्याक्सी र एउटा कार भाडामा लिएका थिए। यसका साथै पाँचवटा मोटरसाइकल पनि प्रयोगमा थिए।

जेन-जी आन्दोलनमा हिरासतबाट फरार विनय तामाङको गिरोहका लुटेराहरूले मानिसहरूका कान र घाँटीबाट गरगहना थुत्ने गरेका थिए। तस्बिर: नेपाल प्रहरी
जेन–जी आन्दोलनपछिका दिनमा यो गिरोह काठमाडौँमा २२ वटा घटनामा संलग्न भएको अनुसन्धानबाट देखिएको छ। ती घटनामा करिब ४८ लाख रुपैयाँ बराबरका गहना र नगद लुटपाट भएको पाइएको छ। हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएका छन्। “उनीहरूविरुद्ध १८ वटा जाहेरी परेका छन्। अन्य पीडितहरू पनि सम्पर्कमा आइरहेका छन्,” एसपी भट्टराई भन्छन्।
लुटपाटदेखि हत्यासम्म, प्रहरीको ‘स्वीप अपरेसन’
जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूले लुटपाट मात्र होइन, जघन्य अपराधसमेत गरेका छन्। नख्खु कारागारबाट भागेका कैदीहरू संलग्न दुई हत्याका घटनाले सुरक्षा चुनौतीलाई गम्भीर बनाएको छ।
१३ असोजमा काठमाडौँको ठमेलमा मकवानपुर घर भई मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङको हत्या भयो। दाङको राप्ती गाउँपालिका–१ का २२ वर्षीय आकाश मगरले कैंची प्रहार गरी तामाङको हत्या गरेका थिए।
आकाश मगर जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार भएका थिए। लागुऔषध मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि जेल परेका उनी फरार भएपछि आफ्नै साथीको हत्या गर्न पुगेका थिए। ७ पुसमा रोल्पाबाट पक्राउ परेका मगर पुनः कारागार चलान भइसकेका छन्।
५ असोजमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ की ३१ वर्षीया मनीषा घ्यावा तामाङ मृत फेला परिन्। घरबाट करिब डेढ सय मिटर टाढा बाँझो बारीमा खाल्डो खनेर पुरिएको अवस्थामा उनको शव भेटिएको थियो।

१५ माघमा पक्राउ परेका विनय तामाङको गिरोहबाट बरामद सामान। तस्बिर: नेपाल फोटो लाइब्रेरी
काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार मनीषाको हत्या उनकै श्रीमान् ३३ वर्षीय सन्तबहादुर तामाङले गरेका थिए। तामाङ पनि २५ भदौमा नख्खु कारागारबाट फरार भएका थिए। जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद सजाय भोगिरहेका उनी फरार भएपछि घर पुगेका थिए। सोही विषयमा श्रीमतीसँग विवाद चर्किँदा हत्या भएको शाह बताउँछन्। तामाङ पनि पुनः कारागार चलान भइसकेका छन्।
जेन–जी आन्दोलनका क्रममा देशभरका २८ वटा कारागारबाट १४ हजार ५५९ कैदी फरार भएका थिए। गृह मन्त्रालय तथा कारागार व्यवस्थापन विभागले फरार कैदीलाई २० असोजभित्रै फर्किन आह्वान गरेको थियो।
प्रहरीका अनुसार फरार कैदी संलग्न कम्तीमा एक दर्जन आपराधिक घटना दर्ता भइसकेका छन्। तीमध्ये मोटरसाइकल चोरी, लागुऔषध कारोबार, हत्या र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अपराधसमेत छन्।
विभागका अनुसार तीमध्ये १० हजार १४५ कैदी पुनः कारागार फर्किसकेका छन्। अझै ४ हजार ४०४ कैदी जेलबाहिरै छन्। विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार फरारमध्ये कतिपय आफैं फर्किएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरी बुझाएको हो। “अझै ठूलो संख्यामा कैदी जेलबाहिर हुनु चिन्ताको विषय हो,” उनी भन्छन्।
कारागारबाट फरार एक नाबालकसमेतले मोटरसाइकल चोरी गराएको घटना पनि खुलेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरी, उदयपुर, झापा, महोत्तरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, कास्की, दाङ र कैलालीमा यस्ता घटना भएका छन्।
प्रहरी तथ्यांकअनुसार फरारमध्ये दुई जनाले हत्या गरेका छन् भने एक जनाले ज्यान मार्ने उद्योगको अपराध गरेका छन्। “जेलबाहिर पुगेपछि सवारीसाधन चोरीदेखि हत्या र लागुऔषध कारोबारसम्मका अपराध भएको पाइएको छ,” केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्ले भन्छन्।
प्रहरी प्रधान कार्यालयले फरार कैदी पक्राउ गर्न ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ। “देशभरिका प्रहरी कार्यालय फरार कैदी पक्राउ अभियानमा जुटेका छन्। उनीहरू नोटिसमा छन् र पक्राउ पर्दै जान्छन्,” काफ्ले भन्छन्।
साढे चार हजारभन्दा बढी कैदी जेलबाहिर रहँदा सरकार प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेको छ। २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि फरार कैदी सुरक्षा चुनौती बनेका छन्।
“यतिबेला स्थिति नियन्त्रणमा छ भन्ने दाबी सुरक्षा निकायले गर्न सक्दैन। प्रत्येक फरार कैदी सम्भावित अपराधको जोखिम हो,” पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, “सूचनाबिनाको अपरेसन चलाउनु भनेको हिलोमा माछा मार्नुजस्तै हो। सूचना संकलनका लागि लगानी गर्नुपर्छ। जेन–जी आन्दोलनमा सुरक्षा संयन्त्र सूचना अभावकै कारण चुक्यो ।”
प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हतियारको यकिन तथ्यांक दिन सकेको छैन। तर, अहिलेसम्म ७४५ थान हतियार बरामद भइसकेको दाबी गरेको छ।
ठकुरीका अनुसार ती हतियार र फरार कैदी निर्वाचनका समयमा प्रयोग हुने जोखिम उच्च छ। “प्रहरी निर्वाचन सुरक्षाको तयारीमा जुट्दा उनीहरूले मौका छोप्न सक्छन्,” मल्ल भन्छन्, “जोखिम वर्गीकरण र फरार कैदी खोजीको लागि प्रभावकारी संयन्त्र आवश्यक छ, नत्र फरारबाट जुनसुकै बेला घटना दोहोरिन सक्छ।”