काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा सात हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ। रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ।

त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। लैनचौर, कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनेलगायत स्थानमा रु ६७ लाख बराबरको लागतमा क्याट्स आई राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए। क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ। धेरै स्थानमा सडक चिन्ह मेटिएका छन्। त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ। कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ। रासस