कास्की। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभीए) गण्डकी प्रदेशले कानुनविपरीत प्रयोग भइरहेका विदेशी सवारीसाधनको प्रयोग रोक्न माग गरेको छ।
सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले बिहीबार विज्ञप्तिमार्फत कानुनविपरीत भइरहेका विदेशी सवारीसाधनको प्रयोगका सम्बन्धमा आवश्यक निगरानी गर्दै यसमा राज्यबाट व्यवस्थापन हुनुपर्ने माग गरे।
कानुसम्मत विदेशी सवारीसाधनलाई व्यवस्थित गर्दै जथाभावी रूपमा भइरहेको प्रयोगका कारण दुर्घटनाको जोखिम बढिरहेका घटनाको न्यूनीकरणका सम्बन्धमा संस्थाले दिँदै आएको चासोलाई गलत ढङ्गबाट व्याख्या गर्दै कतिपय सञ्चारमाध्यममा आएका नकारात्मक समाचारप्रति सङ्घको ध्यानाकर्षण भएको जनाएको छ।
विद्यमान कानुनी व्यवस्थाअनुसार विदेशी सवारीसाधनले अध्यगमन कार्यालयबाट एकपटकमा बढीमा एक साताका लागि मात्र अनुमति पाउने व्यवस्था रहेको अध्यक्ष दाहालले बताए। उनले एक वर्षमा एउटा सवारीसाधनले पटकपटक गरी बढीमा २९ दिन मात्रै नेपाल आउने/जाने अनुमति पाउने व्यवस्था रहेकामा त्यस्तो नभएको बताए। सीमानाकाका नेपाली र भारतीय यातायात व्यवसायीले सस्तो मूल्यमा भारतीय निजी र भाडाका सवारीसाधन किनेर नेपालमा वर्षभरि व्यवसाय सञ्चालन गरेकामा सङ्घले आपत्ति जनाएको हो।
पछिल्ला समय पर्यटकको स्वास्थ्य र सुरक्षा बेवास्ता गर्दै सीमाबाट एकै दिनमा मुस्ताङ र मनाङजस्ता उच्च हिमाली क्षेत्रमा पुर्याउने प्रवृत्तिले गम्भीर जोखिम निम्त्याएको विज्ञप्तिमा उल्लेख छ। “अन्नपूर्ण संरक्षण क्षेत्र तथा माथिल्लो मुस्ताङको अनुमतिपत्र सकेसम्म छलेर जाने प्रवृत्ति बढ्दै जानुका साथै विदेशी सवारी चालकले मादक पदार्थ सेवन गरी रात्रिकालीन समयमा पनि यात्रा गर्ने गरेकाले दुर्घटनाको जोखिम बढिरहेको छ‚” विज्ञप्तिमा छ। यी समस्या दृष्टिगत गरी राज्यका तर्फबाट विदेशी सवारीसाधनको प्रभावकारी जाँच गर्नुका साथै कानुनसम्मत रूपमा अभिलेखीकरण नियन्त्रण गर्नुपर्नेमा सङ्घको जोड छ।
विदेशी सवारीसाधनलाई लाग्ने भन्सार, रुट परमिट तथा जाँचपास शुल्क सस्तो भएकाले त्यसलाई बढाउनुपर्ने सङ्घले माग गरेको छ।