काठमाडौँ। प्रहरीले जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाउन संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
गत २४ भदौमा सिंहदरबारमा पनि आगजनी गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरेको हो।
सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू खोजी गर्ने क्रममा चितवनको खैरहनी नगरपालिका ९ घर भई काठमाडौँ २९‚ अनामनगरमा बस्दै आएका गौतमलाई बिहीबार पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीले उनलाई बिहीबारै अदालतमा उपस्थित गराएर पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। भट्टराईका अनुसार गौतमलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ।