काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

टी–२० विश्वकप

 आइतबारदेखि सुरु हुने टी–२० विश्वकपमा आरिफ शेखसहित बसीर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बम र ललित राजवंशीमध्ये कसले डेब्यु गर्ने हुन्, सबैको चासोको विषय

२३ माघ २०८२
अ+
अ-

खेलमा प्रतिभा पर्याप्त भएर मात्र हुँदैन, भाग्यले पनि साथ दिनुपर्छ। यसको सबैभन्दा ठूलो प्रमाण हो, भारतको मुम्बईमा आइतबारदेखि सुरु हुने टी–२० विश्वकप।

सन् २०१८ मा आरिफ शेखले टी–२० राष्ट्रिय टोलीमा डेब्यु गरे। छोटो फर्म्याटको क्रिकेटमा ६ वर्ष अनवरत राष्ट्रिय टोलीबाट खेल्दा पनि उनले गत विश्वकपमा मौका पाएका थिएनन्। बरु उनको सट्टा तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा सुरु गरेका भाइ आसिफले मौका पाए।

तर, यसपालि यी दाजुभाइ एकैपल्ट विश्वकपमा देखिँदै छन्।

मुम्बईको वानखडे स्टेडियमबाट नेपालले विश्वकप अभियानको सुरुआत गर्दै छ। आसिफका लागि यो दोस्रो विश्वकप अनुभव हो भने आरिफ पहिलोपल्ट विश्वकप खेल्दै छन्।

“एक दशक लामो करिअरमा विश्वकप खेल्न पाउनु मेरो लागि गौरवको क्षण हो,” आरिफ भन्छन्।

पाँच नयाँ खेलाडी र डेब्यु गर्न लालायित ललित

नेपालले पारस खड्काको कप्तानीमा सन् २०१४ मा पहिलो टी–२० विश्वकप खेलेको थियो। यसको १० वर्षपछि सन् २०२४ मा नेपाली टोली पुनः विश्वकपका लागि छनोट भयो।

पहिलोबाट दोस्रो विश्वकप खेल्दा राष्ट्रिय टोलीका अधिकांश खेलाडीले अवकाश पाइसकेका थिए। सोमपाल कामीमात्र भाग्यमानी खेलाडी रहे। उनी अझैसम्म राष्ट्रिय टोलीमा सहभागी छन्। उनको यो तेस्रो विश्वकप सहभागिता हो।

गत विश्वकपमा सोमपालबाहेक कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, ललितनारायण राजवंशी, गुलशनकुमार झा, सागर ढकाल र कमलसिंह ऐरीले एकैपल्ट डेब्यु गरेका थिए। तर, ललित र कमलले एउटा पनि खेल खेल्न पाएनन्।

सन् २०२४ को विश्वकप टोलीमा अटाएका अनिल, कुशल, सागर र कमलसिंह भने यसपटक अटाउन सकेनन्। बरु यिनीहरूको स्थानमा आरिफसहित बसीर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बम विश्वकप टोलीमा पहिलोपल्ट अटाएका छन्।

बसीर अलराउन्डर हुन् । आरिफ र लोकेश ब्याटर। नन्दनले जहाँ तीव्र बलिङको धारलाई सम्हाल्नेछन् भने शेरले स्पिन क्षेत्रलाई।

यसपालि विश्वकप टोलीका सबैभन्दा भाग्यमानी खेलाडी हुन्, नन्दन। उनले १० महिनाअघि मात्र कतारविरुद्ध टी–२० मा डेब्यु गरेका थिए। त्यसयता १२ इनिङ्स खेलेका उनी विश्वकप टोलीमा समेटिएका छन्।

अविनाशलाई राष्ट्रिय टोलीमा स्थान नदिने निर्णयप्रति छनोट समितिका प्रमुख लेखबहादुर क्षेत्री (एलबी)ले चर्को विरोध गरेका थिए।

नेपाल प्रिमियर लिग (एनपीएल) मा उनले कर्णाली याक्सबाट प्रतिनिधित्व गरेका थिए। एनपीएलमा उनको प्रदर्शन खासै प्रभावशाली थिएन। सात खेलमा १० विकेटमात्र लिएका थिए। बरु उनीभन्दा बढी अविनाश बोहराले १७ विकेट लिएका थिए। तर, उनलाई छानिएन। उनले गत विश्वकप खेलेका थिए।

अविनाशलाई राष्ट्रिय टोलीमा स्थान नदिने निर्णयप्रति छनोट समितिका प्रमुख लेखबहादुर क्षेत्री (एलबी)ले चर्को विरोध गरेका थिए। तर, नेपालका पहिलो कप्तान तथा पूर्वछनोटकर्ता प्रमुख उत्तम कर्माचार्य यस निर्णयको बचाउ गर्छन्। उनी भन्छन्, “अविनाश ३१ वर्ष पुगेका छन्। करण र सोमपालको पनि सायद यो अन्तिम विश्वकप हुन सक्छ। त्यसैले भविष्यलाई हेरेर नन्दनलाई छनोट गरिएको होला।”

राष्ट्रिय टोलीमा निर्विकल्प मानिएका सोमपाल र करणलाई यसपालि किशोर महतो र रिजन ढकालले परिवर्तन गर्ने सम्भावना प्रबल थियो। तर, किशोर अस्ट्रेलिया उडे। रिजनले राम्रो प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उनको ठाउँमा नन्दनले अवसर पाए।

एनपीएलमा यी बाहेक शेर, बसीर र आरिफले उत्कृष्ट प्रदर्शन गरेका थिए। लोकेश औसत प्रदर्शनका बाबजुद टोलीमा छानिएका हुन्। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई पहिलोपटक एनपीएल च्याम्पियन बनाउन शेरले सुदूरपश्चिम रोयल्सका तीव्र बलर अविनाशसँगै समान १७ विकेट लिएका थिए।

सन् २०१६ यता घरेलु प्रतियोगिता खेल्दै आएका शेर एनपीएलमा उदीयमान खेलाडी घोषित भए।

विराटनगर किङ्सका २२ वर्षीय बसीरले सन् २०२२ मै तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा केन्याविरुद्ध डेब्यु गरेका थिए। त्यसबेला उनलाई ‘लामो रेसको घोडा’ मानिएको थियो। उक्त भ्रमणमा दुई खेल खेलेपछि केही वर्ष गुमनाम रहे।

पछिल्लो एनपीएलमा बसीरले नौ खेलमा १९१ रन बनाएका थिए। कर्णाली याक्सविरुद्ध उनले ४३ बलमा बनाएको अविजित ६२ रनले विराटनगरलाई तीन विकेटको जित दिलायो।

पछिल्लो एनपीएलमा बसीरले नौ खेलमा १९१ रन बनाएका थिए। कर्णाली याक्सविरुद्ध उनले ४३ बलमा बनाएको अविजित ६२ रनले विराटनगरलाई तीन विकेटको जित दिलायो। एनपीएलमा उनी नेपाली खेलाडीमध्ये सर्वाधिक रनकर्ताको सूचीमा रोहित पौडेल र विनोद भण्डारीपछि तेस्रो स्थानमा रहे।

सुदूरपश्चिम रोयल्सलाई लगातार फाइनलमा पु¥याएका आरिफ शेखले नौ खेलमा १८६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। विराटनगरबाट बसीरसँग खेलेका लोकेशले पनि १७० रन बनाएका थिए।

पाउलान् त मौका

नेपालको ब्याटिङ र बलिङ पछिल्लो समय अनपेक्षित मानिँदै आएको छ। नेपाली टोलीका पूर्वअलराउन्डर तथा छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरी चिन्ता व्यक्त गर्छन्। “अन्य टोलीका ब्याटरले खेल्दा ७०–८० रन बनाउँदै आएका छन्। तर हामीले श्रीलंका र भारतसँगको अभ्यास खेल हे¥यौँ, त्यस्तो स्तरको ब्याटिङ आउन सकेको छैन। हामीकहाँ ब्याटरले धेरै खेल्दा पनि ४०–५० रन बनाउँछन्,” चौधरी भन्छन्।

नेपाली टोलीमा पछिल्लो समय ७०–८० रन बनाउन सक्ने ब्याटर नै देखिन छाडेका छन्। कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडीलाई पनि ५० रनभन्दा माथि रन बनाउन धौधौ परेको देखिन्छ। यसै कारण पनि टोली दबाबमा रहने गरेको छ। तर, आरिफ र बसीरको आगमनले मध्यक्रम केही बलियो बन्ने सम्भावनालाई नकार्न सकिन्न। बसीरले मौका नपाए पनि आरिफले युएईविरुद्ध वार्मअप खेलमा अविजित ६१ रन बनाएका थिए।

उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग १०३ रनको साझेदारी गर्दै सात विकेटको फराकिलो जित दिलाएको अनुभवका आधारमा आरिफमा विश्वास गर्न सकिने चौधरीको भनाइ छ।

तर, बलिङ आक्रमणको धार भने करिब ६–७ वर्षदेखि एउटै ढाँचामा रहेको प्रष्ट देखिन्छ। सोमपाल नेपाली टोलीबाट खेल्न थालेको करिब एक दशक भइसकेको छ भने करणको पनि त्यति नै समय बितिसकेको छ। सन्दीप र ललितले पनि आधा दशक बिताइसकेका छन्।