काठमाडौँ। वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका छोरा अनमोलले दागबत्ती दिए।
हृदयाघातका कारण थापाको शनिबार बिहान निधन भएको हो। नेपाली चलचित्र क्षेत्रमा उनी ‘राते काइँला’ नामले परिचित छन्। जुन उनले अभिनय गरेको सुपरहिट चलचित्र चिनोमा निर्वाह गरेको भूमिकाबाट आएको हो। यो भूमिकाले उनलाई नेपाली दर्शकमाझ अमर बनायो।
कलाकार थापाले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनले बलिउडका चलचित्रहरूमा समेत अभिनय गरेका छन्। उनको अभिनयकला भोजपुरी चलचित्रहरूमा पनि देख्न सकिन्छ।
उनको करियरको सुरुवात बलिउडबाटै भएको थियो। तर नेपाली सिनेमामा उनको योगदान महत्त्वपूर्ण छ। उनी एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष पनि थिए।
उनले अभिनय गरेका चलचित्रमा चिनो‚ राँको‚ सपना‚ आगो‚ देउकी‚ मसाल‚ रुद्राक्षलगायत छन्। उनले नेपाली टेलिसिरियलमा पनि अभिनय गरेका छन्। मेरी बस्सैमा उनले शेरसिंह मामा भूमिकामा अभिनय गरेका छन्।
यस्तै उनले बलिउडमा डेब्यु गरेको चलचित्र एक दूजे के लिए हो। उनले मेरी कोम‚ द फेमिली म्यानलगायत चलचित्रमा पनि अभिनय गरेका छन्। झन्डै डेढ सय चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार थापाले खलनायक‚ सहायक भूमिका र विविध चरित्रहरूमा विभिन्न भूमिका निर्वाह गरेका छन्।
हेरौँ पशुपतिमा वरिष्ठ कलाकार थापाको अन्तिम संस्कारका थप तस्बिर :
