काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौँ। हङकङमा रहेका नेपाली व्यवसायीले रोजगारी खोज्न सहयोग गर्ने एप सञ्चालनमा ल्याएका छन्। उनीहरूले डिजिटल रोजगारी प्लेटफर्म ‘जब लिंक कनेक्ट’ मोबाइल एप सञ्चालनमा ल्याएका हुन्। मोबाइल एपमार्फत रोजगार खोज्ने र रोजगार दिनेका लागि यो एप सञ्चालनमा ल्याएको सञ्चालनले बताएका छन्।

‘जब लिंक कनेक्ट’ मोबाइल एपको बेटा संस्करण सोमबार हङकङमा सार्वजनिक गरिएको छ। नेपाली समुदायलाई लक्षित गरी तयार गरिएको उक्त एप सम्भवतः हङकङमा नेपाली व्यवसायीद्वारा विकसित पहिलो डिजिटल रोजगार प्लेटफर्म भएको दाबी गरिएको छ।

एपका संस्थापक तथा सफल नेपाली व्यवसायी डीके दाहालका अनुसार एपमार्फत कामदारहरूले घरमै बसेर आफ्नो सीप र दक्षताका आधारमा रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताहरूले पनि आवश्यक जनशक्ति सहज रूपमा फेला पार्न सक्नेछन्। विशेष गरी शारीरिक श्रममा आधारित ब्लु-कलर कामदारहरूलाई सिधै रोजगारदातासँग जोड्ने उद्देश्यले मोबाइल फ्रेन्डली प्लेटफर्म तयार गरिएको सञ्चालक दाहालको भनाइ छ।

सन् २०१४ मा नेपाली समुदायका लागि भाइबर र फेसबुकमा सुरु गरिएको ‘कन्स्ट्रक्सन ग्रुप’को डिजिटल संस्करणका रूपमा जब लिंक कनेक्ट विकसित गरिएको जनाइएको छ।

हाल हङकङमा धेरै नेपाली बेरोजगारीको समस्यासँग जुधिरहेको अवस्थामा यो एपले काम खोज्ने र कामदार खोज्ने दुबै पक्षलाई सहज बनाउने विश्वास आयोजकको छ। एपले निर्माण‚ फुड एन्ड बेभरेज‚ घरेलु सहयोगी‚ सुरक्षा गार्ड तथा बडिगार्ड‚ चालक‚ उत्पादन तथा म्यानुफ्याक्चरिङ‚ यातायात तथा लजिस्टिक्स‚ मर्मत तथा इन्स्टलेसन‚ हेल्थकेयर सपोर्टलगायत विभिन्न क्षेत्र समेट्ने जनाएको छ।

हङकङबाट सुरु गरिएको उक्त एपलाई आगामी दिनमा नेपालसहित विश्वभर विस्तार गर्ने योजना रहेको संस्थापक दाहालले जानकारी दिए।