काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘नेपाली आईटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तर्क्रियामा उनीहरूले आईटी उद्योगबाट मुलुकले ठूलो लाभ लिनसक्ने बताए।

नासआईटीका अध्यक्ष गौरवराज पाण्डेले एक अध्ययनमा सन् २०२२ मा यस क्षेत्रले ६७ अर्ब रुपैयाँबराबरको सेवा निर्यात गरेको बताए। उनले नेपालमा डिजिटल सेवा र एआईको सम्भावना विषयमा प्रस्तुतीकरण दिँदै आईटी सेवाको विकासमार्फत नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने धारणा राखे।

उनले सन् २०२२ यता आईटी क्षेत्रले सेवा निर्यात गरेर वार्षिक एक अर्ब डलर आम्दानी गरिरहेको अनुमान रहेको बताए। उनले भने, “नेपालले विगतका औद्योगिक क्रान्तिहरू गुमायो। विश्वका विकसित देशहरूले यस क्षेत्रमा ठुलो लगानी गरेका छन्, नेपालमा पनि लगानीका लागि सरकारले वातावरण बनाउनु आवश्यक छ।”

नासआईटीका महासचिव अलिशा श्रेष्ठले नेपालमा यस क्षेत्रमा काम गर्ने कम्पनी र जनशक्ति बढ्दै गएको बताइन्। उनका अनुसार हाल नासआईटीले ८० वटा कम्पनी आबद्ध भइसकेको छ।