९ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ । दाङको तुलसीपुरमा नेकपा (एमाले)को झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्।

गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो। योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि खोजी कार्य जारी राखिएको छ।