महोत्तरी । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् ।
ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेका ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिदा यो ठाउँ धार्मिक आस्थाको केन्द्र बनेको छ । यात्रीसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल आइपुगेपछि डोलाको दर्शन गर्न श्रद्धालु जम्मा हुन्छन् । प्रत्येक विश्रामस्थलमा भजनकीर्तनको परम्परा छ भने धार्मिक मेला लाग्ने गर्छ ।
ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्नेछन् । कञ्चनवन यात्राको महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो । यहाँबाट नवौँ दिन यात्री धनुषातिर प्रस्थान गर्नेछन् । यो यात्रा प्राचीन मिथिलाको राजधानी जनकपुरलाई मध्य केन्द्र बनाई १३३ किलोमिटर बृत्तमा गरिन्छ । यस यात्राका १५ रात्रि विश्रामस्थलमा महोत्तरीमा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार छन् ।
फागुन औँसीका दिन प्रारम्भ भई पूर्णिमासम्मको यो यात्राको ध्येय मानव कल्याण रहेको बताइएको छ ।