नेपाल चिनौँ
चार घण्टा उकालो चढेर डाँडाबाट हेर्दा लोमन्थाङ निकै तल हिमालहरूको बीचमा हिमालकै सहरझैँ लोभलाग्दो गरी बसेको थियो- धरतीमा रहेको स्वर्गको टुक्राजस्तो।
तपाईंलाई सबैभन्दा मन पर्ने ठाउँ कुन हो?
कहाँ, कहिले घुम्न जाने भनेर कसरी थाहा पाउने?
म ल्यान्डस्केप फोटोग्राफर भन्ने थाहा पाएका धेरै साथीले यस्ता प्रश्न सोधिराख्नुहुन्छ।
खासमा दोहोरिरहने यी प्रश्नले मलाई हैरान बनाएका छन्। कतिपयलाई त भेट हुँदा भनेको छु। आज यस लेखमार्फत यो प्रश्न दिमागमा लिएर बसेका सबैलाई भन्दै छु।
घुम्ने कहिले भन्ने कुरा हामी मानिसको समयमा भर पर्दैन। यो त प्रकृति कुन समयमा सुन्दर देखिन्छ भन्नेमा भर पर्छ। प्रकृति जुन बेला सुन्दर देखिन्छ, घुम्न हिँडिहाल्ने हो। अनि बल्ल आउँछ घुम्नुको मजा! घुमफिरमा मेरो मन्त्र यही हो। प्रकृति सिँगारिने समय हेर्छु र घुम्न निस्किन्छु। हालैको मेरो मुस्ताङ यात्रा पनि यसैको पछिल्लो कडी हो।

मुस्ताङको रङले लोभ्याएर थुप्रै पटक घुम्न गइसकेको मलाई मुस्ताङको एउटा रङ हेर्ने रहर बाँकी थियो। त्यो थियो, हिउँदको मुस्ताङ। यस पटक मुस्ताङमा हिउँ पर्दै छ भन्ने थाहा पाएर रोमाञ्चित भएँ। लगत्तै काठमाडौँबाट आफैँ गाडी हाँकेर पोखरा गएँ। त्यहाँबाट जिप लिएर हिउँ पर्न सुरु हुनुअगावै मुस्ताङको लोमन्थाङ पुगेँ।
म पुगेको केही घण्टापछि नै त्यहाँ हिउँ ‘फल्न’ थाल्यो। हिउँ पर्नुलाई स्थानीयवासीहरू ‘फल्नु’ भन्दा रहेछन्।

मुस्ताङ धार्मिक पर्यटक र फोटोग्राफरका लागि मात्र होइन, हरेकका लागि आकर्षक गन्तव्य हो। नेपालीहरूले देशभित्र घुमफिरको योजना बनाउँदा प्रायको शीर्ष सूचीमा मुस्ताङ नै पर्छ सायद। किनकि, यो ठाउँ नै यति चित्ताकर्षक छ।

माटोका ढिस्का र पहाडहरू यति सुन्दर छन् कि कोही कलाकारले आफ्नो जम्मै शिल्प खन्याएर कोरेको चित्रजस्तो लाग्छ। एउटा पहाडपछि आउने अर्को पहाड तरेली परेर उभिएको। एउटा पहाडमा घामको टहक, अर्कोमा छाया। एउटा रातो, अर्को बेग्लै रङको।
मुस्ताङ जाने क्रममा जोमसोम काटिसकेपछि जब छुसाङ हुँदै उकालो लागिन्छ, तब हरेक पहाड फरक फरक रङको देखिन्छ। आकार पनि फरक फरक। तलतिर कालीगण्डकी नदीले बनाएका खोँचहरू, पर भृकुटी हिमालसम्मको फराकिलो ल्यान्डस्केप, यता धौलागिरी र नीलगिरीको मनमोहक मुस्कान। शताब्दीयौँ पुराना गुम्बाहरू र पहाडमा रहेका गुफाहरू त मुस्ताङका विशिष्ट आकर्षण भइगए।

फोटोग्राफीको सिलसिलामा धेरै पटक पुगेँ मुस्ताङ। एक पटक त यस क्षेत्रमा करिब २२ दिन हिँडेको छु। तर, हरेक पटक जाँदा मुस्ताङ नयाँ र रोमाञ्चक लाग्छ मलाई।
यसपालिको यात्राको उद्देश्य थियो, हिउँले ढाकिएको मुस्ताङ हेर्नु र यसको फोटो कैद गर्नु। हुन त मुस्ताङका नांगा पाखाहरू र माटोका चिरादार अग्ला रंगीन पहाडहरू नै आफैँमा सौन्दर्यका खानी हुन्। तर, ती पहाडमाथि हिउँ पर्दा कस्तो देखिँदो रहेछ भन्ने कौतूहल थियो।

जाडो याममा लोमन्थाङलगायत माथिल्लो मुस्ताङका बासिन्दा पोखरा, काठमाडौँलगायत ठाउँमा झर्ने गर्छन्। त्यसैले यस्तो ठाउँमा जानुअघि त्यहाँ खाने-बस्ने व्यवस्था मिलाउन र केही दिनको मौसम पूर्वानुमान थाहा पाउन अनिवार्य हुन्छ। यस पटक लोमन्थाङमा दुई वटा होटल खुला रहेको थाहा पाएपछि वास र गाँसको तनाव रहेन। निर्धक्क भएर गएँ।
म बसेको होटलको चारैतिर खुला थियो। कोठाको बिछ्यौनाछेउमै झ्याल थियो। झ्यालबाट बेलाबेला बाहिर हेरिरहेको थिएँ। रातैभरि हिउँ मस्त परिरहेको थियो। बिहान उठ्दा घुँडासम्म आइपुग्ने गरी हिउँ जमेको थियो।

हिमपातको बेला बाहिर हिँड्दा धेरै ध्यान दिनुपर्छ। हामी सुरुमा हिउँ खेल्ने धुनमा रमाइलो मानेर आवेगमा हिँड्छौँ। जसले गर्दा खाल्डाखुल्डीमा जमेर बसेको आइसले गर्दा दुर्घटना हुने सम्भावना हुन्छ। उपयुक्त कपडा र जुत्ता नभए हिउँ खेल्दा चिसोले कठ्यांग्रिने समस्या पनि हुन सक्छ।

यस यात्रामा मानिसहरूले असावधानीका कारण सास्ती बेहोरेको देखियो। हिउँ पर्दै छ भन्ने थाहा नपाएर हिँडेको एउटा समूह नेपाल-चीन सीमानाका कोरला पुगेर लोमन्थाङमा नै बस्न आइपुगेको रहेछ। सोही समूहका सदस्यको ‘हाई अल्टिच्युड’ को समस्याले झन्डै ज्यान गएन। हिउँ पर्न छोडेपछि हेलिकोप्टरबाट उद्धार गर्नुपर्यो।
अर्का समूहका तीन जना युवा हामीभन्दा पहिले मोटरसाइकलमा त्यहाँ पुगेका रहेछन्। तर, हिमपातका कारण फर्किन नसकी कैयौँ दिन त्यहाँ बसेर अन्त्यमा मोटरसाइकल छोडेर फर्किनुपरेको थियो।

म व्यावसायिक फोटोग्राफर भएकाले आफूसँगै क्यामेराका गियरहरूको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले हिउँ पर्न रोकिएसँगै बिहान १०/११ बजेतिर बिस्तारै बाहिर निस्किएँ। हिउँका कारणले धेरै ठाउँ पुग्न सम्भव थिएन। तर, वरपर रहेका केही महत्त्वपूर्ण भ्युपोइन्ट या भनूँ, मलाई फोटो खिच्न उपयुक्त लागेका ठाउँहरूमा पुग्ने प्रयास गरेँ, जुन ठाउँ विगतमा जाँदा थाहा पाएको थिएँ। बाक्लो हिउँ भएकाले त्यहाँ पुग्न धेरै गाह्रो भयो र धेरै समय लाग्यो। कति ठाउँमा त लडेँ पनि। क्यामेरा समेत हिउँमा भासियो।

कष्टका बाबजुद फोटो खिच्ने लक्षित ठाउँमा पुग्न सफल भएँ। त्यहाँबाट हेर्दा लाग्यो, म त अर्कै ठाउँमा छु। लोमन्थाङलाई यस्तो पहिले कहिल्यै देखेको थिइनँ। हिउँदे मुस्ताङको दर्शन गर्न आउने आफ्नो निर्णय त्यसबेला सही लाग्यो।
त्यहाँबाट लोमन्थाङ हेर्दा पूरै हिउँले ढाकिएको थियो। घरहरूमा माटोका छानामाथि राखिएका दाउराहरू पनि सेताम्मे थिए। लोमन्थाङको बीचमा अवस्थित गुम्बाको पर्खालको रातो रङ खुलेको थियो। त्यहाँका छ्योर्तेनबाट तन्काइएका ‘प्रेफ्ल्याग’हरू’ का डोरीमा समेत हिउँ जमेको थियो। त्यो दृश्य कम्ता मनमोहक थिएन।

हिमपातका कारण लोमन्थाङ आसपासका रंगीन पहाडहरू हिमालमा परिणत भएका थिए। लोमन्थाङपारिको सबैभन्दा अग्लो डाँडा चढ्न करिब चार घण्टा लाग्यो। त्यहाँ बेतोडले हावा चलिरहेको थियो। त्यहाँ पुग्दा आधा शरीर हिउँले र आधा पसिनाले भिजेको थियो। क्यामेराको झोला थपक्क हिउँमाथि राखेर झोलाबाट क्यामेरा र ट्राइपड निकालेँ। कठ्यांग्रिने चिसोमा पन्जा आधा माथि फर्काएर लोमन्थाङको दृश्य कैद गरेँ। यसबेला लोमन्थाङ मभन्दा निकै तल हिमालहरूको बीचमा हिमालकै सहरझैँ लोभलाग्दो गरी बसेको थियो। धर्तीमा रहेको स्वर्गको टुक्राजस्तो। अनमोल कुरा प्राप्त गरेजस्तै अनुभूति भयो।

ल्यान्डस्केप फोटोग्राफी भनेको फोटो खिच्नु मात्र होइन, त्यो फोटो खिच्नका लागि गरिने दु:खसुखको अनुभव नै सबैभन्दा महत्त्वपूर्ण हो जस्तो लाग्छ। त्यो डाँडोको टुप्पोमा पुग्न गरेको संघर्ष, कतिबेला सासै सकिएजस्तो गरी हिँड्नुपरेको अवस्था, हिउँमा भासिँदा कसरी निस्किने होला भन्ने अत्यास, रोमाञ्चलगायत यावत् अनुभव नै मेरा लागि महत्त्वपूर्ण छन्। त्यसैले त्यहाँ पुगेर फोटो खिच्नुभन्दा पनि डाँडामा पुग्ने क्रममा चार घण्टाको अनुभवले छुट्टै तृप्ति दियो।

केही दिन लोमन्थाङ आसपासमा बिताएर फर्किने निर्णय गरेँ। फर्किंदा बाटो हिउँले छोपिएकाले असाध्यै गाह्रो थियो। त्यहाँ फसेका अरू यात्रीहरूसमेत मिलेर डोजर बोलाएर बाटो सफा गर्दै हामी पछि पछि आयौँ। कैयौँ पटक गाडी फस्दा धकेल्नुपर्यो। हिमाली स्याँठले होस उडायो। चिसोले कन्चट पोल्यो, हातगोडा कठ्यांग्रिए। तर, यात्रा भनेकै यही त हो।

लोमन्थाङबाट चराङ, घमी, छुसाङलगायत ठाउँमा वास बस्दै फोटो खिच्दै पोखरा झरेर काठमाडौँ फर्किएँ। तर, अहिलेसम्म आँखामा मुस्ताङ झलझली छ।
