परिकार
ढल्दै गरेको घामको अनुपम दृश्य नियाल्दै माझ किरातका लोकप्रिय र स्वादिष्ट सितनलाई खोटाङदेखि ल्याइएको आराखाले दिएको साथले एउटा मादक साँझलाई निम्तो दिइरहेको थियो।
गाडीबाट ओर्लिनेबित्तिकै थरीथरीका फलफूलका बोट, वरपर फुलेका अनगिन्ती फूल, एकापट्टिको पाटोमा लहलहाउँदो मौसमी तरकारी अनि अगाडि थियो धुलिखेल, पाँचखाल उपत्यका र पलान्चोक भगवतीथान तिरका डाँडाकाँडाको रमणीय दृश्य। प्राकृतिक सौन्दर्यको अमूल्य रसपान सकिएकै थिएन, एक जना भाइ तुलसी र पुदिनाका पातहरूलाई तातो पानीमा केही क्षण डुबाएर/उमालेर तयार गरिएको ‘हर्बल चिया’ बोकेर आइपुगे स्वागत गर्न। त्यो त्यहाँको ‘वेलकम ड्रिंक’ रहेछ। परम्परागत चियाभन्दा पनि पुरानो यो ‘तिजान’ लाई चिया चाहिँ किन भनेका होलान् भनेर गम्दै गर्दा हाम्रा आतिथेय रमेश राई आइपुगे स्वागत गर्न।
हामी पुगेका थियौँ- काठमाडौँबाट लगभग ४० किलोमिटर टाढा, काभ्रेपलान्चोकको नमोबुद्ध फूलबारीमा रहेको मुन्दुम फार्म स्टेमा। साथमा थिए, नेपाल सरकारका पूर्वसचिव तथा रैथाने विश्वविद्यालयका अभियन्ता डा. मानबहादुर विश्वकर्मा र अनुसन्धाता यज्ञविक्रम शाही। आतिथेय रमेश राई हाम्रा लागि स्रोतव्यक्ति थिए एउटा अनुसन्धानका लागि। पाल्पामा थातथलो भएका डाक्टर सा’ब र जाजरकोटका शाही राजा सा’बका साथमा माझ किरातको स्वादसँग गहन छलफलको लक्ष्य थियो, यस भ्रमणको।
तुलसी र पुदिनाका पातको तिजान स्फूर्तिदायी थियो, एक एक कप फेरि थपियो। बसेर छलफल गर्नका लागि टेबलकुर्सीको व्यवस्था थियो, मन भने हरियो गलैँचाझैँ फैलिएको चौरमा थपक्क पलेटी कसेर बसौँ कि भन्नेमा थियो। तर, बाँकी भएका धेरै औपचारिकताले कुर्सीमा थचक्क बसाल्यो। एउटा थालमा पस्किएको भुटेको मकैभटमास चपाउँदै औपचारिक कुराकानी हुँदै गयो। उता भान्छातिर पनि धमाधम खानेकुरा पाक्दै गरेको नाकले चाल पाइरहेको थियो। भान्छाबाट निक्लेको सुगन्धले कामका कुरालाई चाँडै सक्न प्रेरित गरिरहेको थियो।
जसै कामका कुरा सकिए, टेबलमा सुँगुरको पोलेको नाककान आइपुग्यो। साथमा धनियाँ र टमाटरको चटनी थियो। पोलेको कान चपाउँदा निक्लेको कुरुमकुरुमको ध्वनिसँगै मुखमा आएको सुस्वादमा चटनीले मजा थपिरहेको थियो। अनि सुरु भएको थियो गफगाफ। डा. विश्वकर्मा र अनुसन्धाता यज्ञविक्रम दुवै कवि तथा साहित्यकार भएकाले कुराकानीका अन्य विषयलाई साहित्य र कविताले छोप्दै लगेको थियो। यी सबैका बीचमा पनि रमेश राई यस पंक्तिकारलाई किराती संस्कृति र खानाबारे शिक्षा दिइरहेका थिए, एक समर्पित गुरुका रूपमा अनि म चाहिँ जिज्ञासु विद्यार्थी जसरी प्रश्न सोधेको सोध्यै थिएँ।

सितनको मजा लिँदै गर्दा ढल्कँदो साँझलाई साथ दिनका लागि खोटाङदेखि ल्याइएको शुद्ध आराखा वा कोदाको रक्सीले टेबलमाथि प्रभुत्व जमायो। बीच बीचमा मुन्दुम फार्म स्टेको बारीमा उमारिएका मुला-गाँजर पनि आउन थाले। घरी हामीले चिनियाँ साग भन्ने लेटस आउँथ्यो त घरी साँधेको मुला। तिनलाई साथ दिनका लागि भर्खर भाइहरूले पोलेको सुँगुरको सेकुवा ल्याए। ‘पोर्क’ नखाने कि भन्ने गफ चलिरहँदा ‘यसलाई बनेल सम्झेर खाम्, पाप लाग्दैन,’ भनेर सम्झाईबुझाईको काम पनि हुँदै थियो। हुन पनि धराने कालो सुँगुर र बनेलबीचको फरक सायद बोसो र मासुको कसिलोपन मात्रै त हो।
किरातीहरूको उत्कृष्ट खानालाई आमनेपालीबीच लोकप्रिय बनाउने लक्ष्यका साथमा सुरु भएको रहेछ, मुन्दुम फार्म स्टे। त्यसो त आफ्नो उपनाम ‘गाउँले’ लेख्ने रमेश राई आफैँमा एक अभियन्ता हुनुहुन्छ- मुन्दुम ट्रेलको। सुरुमा १०७ किलोमिटरबाट सुरु भएको मुन्दुम ट्रेल अहिले कोसी टप्पु (८० मिटर) देखि सगरमाथाको फेदीसम्म फैलिएर ‘ग्रेटर मुन्दुम ट्रेल’ भनिएको छ। यो सुनसरी, उदयपुर, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी सात जिल्ला भएर जान्छ। किरात सभ्यता र मुन्दुमी दर्शनको अभूतपूर्व अनुभूतिको माध्यम बन्दै गएको छ, मुन्दुम ट्रेल।
धराने कालो सुँगुरको सेकुवालाई टिमुर र गोलभेँडाको चटनीमा चोबेर खाँदै गर्दा रमेश राईले भने, ‘विसं २०७५ सालतिर हामीले मुन्दुम ट्रेल अन्वेषणको काम थाल्दा तीन मुख्य लक्ष्य लिएका थियौँ। यसको पहिलो उद्देश्य ओझेल परेको मध्य-पहाडी भेगका किसानका उत्पादनलाई बजारसँग जोडी आर्थिक समृद्धि ल्याउनु हो भने छायामा पर्दै गएको हाम्रो प्राचीन किरात सभ्यता र मुन्दुमी दर्शनको पुनरुत्थान गरी पर्यटनको आकर्षण बनाउनु पनि हो। त्यससँगै तीव्र भौतिक विकासका नाममा नासिँदै गएको यहाँको अद्वितीय जैविक विविधता र प्राकृतिक सम्पदालाई विनाश हुनबाट जोगाएर दिगो पर्यावरणको रक्षा गर्नु पनि हो।’

मुन्धुम ट्रेलमा राजेश राई।
पर्यटन व्यवसायीका रूपमा नेपालका सबैजसो पर्यटन क्षेत्र घुमेपछि थातथलो भोजपुर भएका रमेश राईलाई आफ्नो गाउँठाउँ अन्यत्रका हिसाबमा कुनै कम छैन र पर्यटनको अपार सम्भावना छ भन्ने लागेपछि यस अभियानको सुरुआत भयो। हो पनि, आम्दानी राम्रै हुन थाल्यो भने पहाडमा पातलिँदै गएको जनसंख्यालाई थाम्न सकिन्छ कि? मिहिनेतको राम्रै फल पाए कोही किन सहरमा भौँतारिन्छ र?
मुन्दुम फार्म स्टे चाहिँ कोभिड महामारीको फल रहेछ। धुलिखेलमा होटेल चलाउँदै गर्दा रमेशले फूलबारीमा जग्गा किनेर राखेका रहेछन्। कोरोनाले अचानक सब कुरा ठप्प भयो। रमेशलाई लाग्यो– एउटाको मात्र भर गरेर हुँदैन। अनि पर्यटनलाई कृषिसँग जोड्न यस फार्मको अवधारणा आयो। २७ रोपनीमा फैलिएको फार्ममा अहिले बस्नेखाने सुविधा सब छ। आरामदायी बसाइ, उच्च कोटिको दृश्यावलोकन र उत्कृष्ट खाना। यहाँ पकाइने खानेकुरा कि त फार्ममा नै उब्जेको हुन्छ कि रमेशको सम्पर्कमा रहेका पूर्वी पहाडका किसानहरूले सिधै पठाएका हुन्छन्।
‘हाम्रोमा धेरै चल्ने भनेको पोर्कको पोलेका परिकार नै हुन्। मूलतः किराती खाना नै हो, त्यससँगै कोदाको रक्सी, छनुवा जाँड, जाडोमा तोङ्वा अनि बाचिपा,’ रमेश राईले आफ्ना परिकारको व्याख्या गर्ने क्रममा नै टेबलमा आइपुग्यो बाचिपा। नेपाली खानाको संवृद्धिमा किरातीहरूले दिएको अमूल्य उपहार। कुखुराको भित्र्याँस र मासुलाई ससाना टुक्रा बनाएर चामलसहित पकाएर पोलेको कुखुराको भुत्ला मिसाएर बनाइने यो परिकार मन पर्नेलाई पहिलो गाँसमा नै मन पर्छ। मन नपर्नेको त के कुरा गरौँ।

साँझ मात्तिँदै गयो, सितन थपिँदै गयो, पेट भरिँदै गयो, साँझको अन्त्य ‘खाना’ भनिने भात वा ढिँडो नखाई न अतिथिलाई चित्त बुझ्ने न आतिथेयलाई। अनि राम्ररी ओढालेको फापरको ढिँडो सेटले मुखमा बुझो लगाइयो र फार्म स्टेको गुणगान गाइयो। पुरानो हिसाबले भन्ने हो भने वल्लो किरातमा पर्छ यो मुन्दुम फार्म स्टे। आजको दिनमा चाहिँ यो आफैँमा किराती संस्कृति, परम्परा र उत्कृष्ट खानपिनको दुनियाँमा प्रवेश गर्ने कलात्मक द्वार बनेर उभिएको छ।