काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

परिकार

फ्रान्सेलीहरूले ‘सैतानको फल’ भनेर सुँगुरलाई मात्र खुवाउने बेला सन् १७९३ तिर काठमाडौँ खाल्टोमा आलुको तरकारी खान थालिसकिएको रहेछ।

२६ बैशाख २०८३
अ+
अ-

दक्षिण अमेरिकाको हामी जस्तै भूपरिवेष्टित देश- बोलिभिया। ब्राजिल, पाराग्वे, चिले, अर्जेन्टिना र पेरुले घेरिएको बोलिभियाको प्रशासनिक राजधानी ला-पाज ठ्याक्कै काठमाडौँ जस्तै छ। चारैतिर डाँडा अनि बिचमा उपत्यका। हाम्रा डाँडाहरूमा घर उम्रिसकेका छैनन्, हरियै छन्, तर त्यहाँ डाँडा घरले छपक्कै छोपिएका जस्ता लाग्छन्।

काठमाडौँको ज्याठातिरको गल्लीबाट पुराना घर हेर्दै असनको तरकारी बजारमा पुगेझैँ लाग्दै थियो– स्पेनिस उपनिवेशकालमा बनेका ला-पाज सहरका गल्लीका घर नियाल्दै एउटा तरकारी बजारमा पुग्दा। त्यहीँ पुगेर हामी दुई नेपाली, यो पंक्तिकार र पत्रकार साथी रघु मैनाली ट्वाँ परेका थियौँ, त्यो पनि आलु देखेर। एक थरीका आलु देखेर होइन, थरी थरीका आलु देखेर। सेतो आलु, रातो आलु, निलो, बैजनी, रातो सेतो मिश्रित, पहेँलो, खैरो, अनेकन् रङका आलु, लामा आलु, गोला आलु, लाम्चा आलु, डल्ला आलु, सुठुनी वा सखरखण्ड जस्तो आलु, गाजर आकारको आलु अनेकन् आकारका आलु। त्यति धेरै प्रकारका आलुको कल्पनासमेत गरेका थिएनौँ हामीले। स्पेनिस र आदिवासी भाषा मात्र बोलिने त्यस सहरमा सहयोग गर्न हामीसँगै हिँडेकी स्थानीय पत्रकार साथीले भनिन्, ‘४०/४५ थरी आलु नियमित रूपमा पाइने बजार हो यो।’

किन नहोस्, वैज्ञानिक नाम सोलानम ट्युबेरोसम भएको आलु दक्षिण अमेरिकाको इन्डिज पर्वतमा, अहिलेको बोलिभिया र पेरुमा उत्पत्ति भएको मानिन्छ। त्यहीँबाट आलु संसारभरि फैलिएको हो। व्यापारका लागि १७औँ शताब्दीको सुरुतिर भारतको पश्चिमी तट विशेषगरी गुजरातको सुरत र गोवा पुगेका पोर्चुगलका व्यापारीहरूले आलु भित्र्याएका थिए।

बेलायती विस्तार

१८औँ शताब्दीमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले भारतभर यसको व्यावसायिक खेती फैलायो। पिस कोर स्वयंसेवकका रूपमा नेपाल आएका विख्यात मानवशास्त्री र कृषि वैज्ञानिक रबर्ट ई. रोड्सको एक प्रतिवेदनअनुसार नेपालमा आलुलाई युरोपमा जस्तै झन्डै उत्ति नै लामो समयदेखि खाद्य बालीका रूपमा उब्जाइँदै आएको छ। फ्रान्समा एन्टोन-अगस्टे पार्मेन्टियरले आलु मानिसको उपभोगका लागि उपयुक्त छ भनेर फ्रान्सेलीहरूलाई विश्वस्त पार्ने प्रयास गरिरहेकै समयमा, कर्नेल कर्कप्याट्रिकले सन् १७९३ मा नेपालको भ्रमण गरेका थिए। उनले काठमाडौँ उपत्यकामा प्रयोगका लागि बर्सेनि पटनाबाट आलुको बीउ आयात गरिने गरेको कुरा उल्लेख गरेका थिए। कर्नेल कर्कप्याट्रिकले चाहिँ अलि हेपेर ‘आलुको बीउसमेत तयार नसकेर पटनाबाट हरेक वर्ष बीउ ल्याउनुपर्ने’ उल्लेख गरेको वाक्यांश पाइन्छ। त्यतिबेला चीनसँगको युद्धपछि शान्ति सम्झौता गरेर बहादुर शाह नेतृत्वमा नेपाल पश्चिमतिर आक्रामक रूपमा अगाडि बढ्दै थियो।

पार्मेन्टियरले काम गर्नुअगाडि पहिलो पटक १६औँ शताब्दीमा आलु युरोप पुग्दा मानिसहरूले त्यसलाई ‘सैतानको फल’ भन्थे। पादरीहरू बाइबलमा आलुको कतै पनि चर्चा नभएको तर्क गर्थे र भन्थे, ‘भगवान्‌ले मानिसलाई खानका लागि बनाएको वस्तुको चर्चा धर्मशास्त्रमा हुनै पर्छ।’ गहुँ र जौलगायत बालीहरू आकाशतिर (स्वर्गतर्फ) बढ्ने हुनाले तिनलाई पवित्र मानियो, तर आलु जमिनमुनि (पाताल वा अँध्यारोतिर) फल्ने भएकाले यसलाई नर्क वा सैतानसँग जोडेर अपवित्र फल मानियो। त्यसमाथि आलुको बाहिरी बनावट गाँठो परेको हुनाले यसलाई खाँदा कुष्ठरोग लाग्ने अन्धविश्वास थियो।अहिले रसिया र उत्तरी पोल्यान्डतिर पर्ने प्रुसियामा जेलजीवन बिताउँदा आलु खाएर बाँचेका पार्मेन्टियरले नै सुँगुरको आहारामा सीमित आलुलाई खान हुने बनाउन रानीलाई आलुको फूल टाउकोमा सजाउन लगाउने, आलु खेतलाई हतियारधारी सिपाहीहरूलाई पहरा दिन लगाउने जस्ता अनेकन् मनोवैज्ञानिक उपाय लगाएका थिए।

भारत हुँदै पेरु र बोलिभियाको आलु नेपाल आए पनि सबै प्रकारका आलुले त्यो लामो यात्रा पूरा गर्न सकेनन्। बोलिभियामा आफूले खान नपाएका निलो, बैजनी, रातो सेतो मिश्रित खालका आलु चाख्न मन थियो। तर, कामको व्यस्तता र अरूको पाहुना भएर जानुका बाध्यताले ती थरी थरीका आलुको स्वाद लिन पाइएन।

त्यही रिसमा नेपाल फर्किएको केही दिनमा नै काठमाडौँ सिफलको एउटा भट्टीमा आलु चिउरा खान पुगियो। साथीले ‘लोकल’ आलु खाने ठाउँ भनेर लगेका थिए। त्यहाँ एउटा ठूलो तसलाभरि उसिनेर काटेर आलु राखिएको थियो। तर, त्यति आलु भुट्ने भाँडो भने कतै देखिएन। कसरी पकाउने हुन् भनेर अचम्मित भइरहेकै बेलामा साहुनीले आलु माथि नुन, बेसार, जिरा, धनियाँको धुलो र अलि बढी नै रातो खुर्सानीको धुलो हालिन्। अर्कातिर एक ताप्केमा मजाले तोरीको तेल तताइन्। मेथी फुराइन्। अनि रातो खुर्सानी पनि फुराइन्। त्यसपछि तातो तेललाई आलुमाथि राखिएका मरमसलामा झ्वाइँ पारिन्। अनि मोल्न थालिन्। क्षणभरमा उसिनेको सेतो आलुका टुक्राहरू लोभलाग्दो रातो रङमा फेरिएका थिए। साहुनीले भनिन्, ‘अलि छिटो आउनुभयो। एक छिन अरू चिज खाँदै गर्नुस्। मरमसला आलुभित्र पस्न दिनु ल।’ नभन्दै १५/२० मिनेटमा चिउरासँग आएको आलु चखिलो, रसिलो र स्वादिलो थियो। जिभ्रो सन्तुष्ट भयो। आजभोलि यसलाई भट्टी आलु भन्न थालिएको रहेछ।

यो भट्टी आलु मात्र होइन, रातो खुर्सानीको लेदोमा पकाएको पिरो आलु उत्तिकै लोकप्रिय छ काठमाडौँका खाजा पसलमा। खासमा आलु नेपाली खानाको अभिन्न अंग भइसकेको छ, आलु चपको कुरा गर्ने कि हरेक घरमा बन्ने आलुको आचार। वा सेलरोटी र पुरीसँग खान बनाइएको झोल आलुको कुरा गर्ने। काउली आलु, प्याज आलु, बन्दा आलु, अनि केही नभए खालि आलु। मधेसमा वा मधेसी परिवेशमा हुर्केको हरेक मान्छेको पहिलो प्रेम त आलु भुजुरी नै हो। अनि मधेसको आलु चोखाको त महिमा नै अलग छ।

नेपाली आलुको परिकारमा आजभोलि भारतीय पनि लोभिएका छन्। भारतमा ट्रेन्डिङमा रहेका रिलहरूमा काँक्रो, हरियो प्याज र उसिनेको आलुबाट बनाइने हाम्रो परम्परागत आलुको अचार त प्रसिद्धिको शिखरमा छ। अलिकति गर्मी हुनुपर्छ भारतीय रिलहरूमा खाँदा मुलायम होला जसरी पस्किएको नेपाली चुकौनी ट्रेन्डिङ हुन थालिहाल्छ। बागलुङ, गुल्मी र पाल्पाका घरैपिच्छे चुकौनी बनाउने आफ्नै तरिका होला, तर बाहिरियाको नजरका आधारमा उसिनेको आलु र क्रिम जस्तो दही र केही मरमसलाले बनाइने चुकौनी खाँदा मुखदेखि आन्द्रासम्म सन्चो भएको भान हुन्छ।

नेपाली पर्यटन क्षेत्रका रेस्टुराँमा सायद सबैभन्दा बिक्ने आलुको परिकार मुस्ताङ आलु नै होला। बेस्सरी तारेर कडक बनाइएको आलुमा रातो खुर्सानी, टिमुर र थोरै अरू मसला थपथाप गरेर बन्ने मुस्ताङ आलुको हरेक टुक्राले खानेको जिब्रोलाई मनोरञ्जन गर्ने ग्यारेन्टी नै छ। तर, मुस्ताङ आलुको नाममा बिक्ने यस परिकारका लागि मुस्ताङबाट आलु चाहिँ कति आयो होला?

उच्च हिमालमा शेर्पा समुदायको आलु आफ्नै स्वादिष्ट परिकार छ– रिल्दोक। बनाउनेको दुःख बिर्सिदिने हो भने यो जतिको मीठो सायद नै अरू कुनै नेपाली आलुको परिकार होला। कडा कडा जाडोमा पनि रिल्दोकको अद्वितीय स्वाद र पोषक तत्त्वले हिमाली भेगमा सजिलै बाँच्न सक्ने बनाइदिन्छ।

शेर्पा समुदायसँग आलु जोडिएको चाहिँ १७७ वर्षअघि मानिन्छ। नेपालमा कोतपर्व भएको दुई वर्ष मात्र भएको थियो। सन् १८४८ को अक्टोबरदेखि डिसेम्बरसम्म बेलायतका प्रकृतिविद् सर जोसेफ डाल्टन हुकर पूर्वी नेपालमा पारिस्थितिक प्रणालीको अध्ययनका लागि ताप्लेजुङ र सिक्किम पुगेका थिए। उनले नै नेपालको पूर्वी कुनो ताप्लेजुङ र अहिले भारतमा पर्ने तत्कालीन स्वतन्त्र देश सिक्किममा आलु रोपेको मानिन्छ। त्यतिबेला सर हुकरसँगै अध्ययनमा रहेका प्रकृतिविद् तथा मानवशास्त्री ब्रायन एच. हड्सन त नेपालको इतिहासका एक चर्चित पात्र नै हुन्। उनले पछि काठमाडौँमा बेलायती राजदूतका रूपमा काम गरे। सन् १९६४ मा छापिएको द शेर्पाज अफ नेपाल : बुद्धिस्ट हाइल्यान्डर किताबका लेखक क्रिस्टोफ भोन फ्युरर-हैमेनडोर्फलाई उद्धृत गर्दै कृषि वैज्ञानिक रबर्ट ई. रोड्स पूर्वी नेपालमा आलुको उत्पादनसम्बन्धी आफ्नो प्रतिवेदनमा लेख्छन्, ‘आलु सम्भवतः १९औँ शताब्दीको सुरुतिर मात्र महत्त्वपूर्ण बालीको रूपमा स्थापित भएको थियो। मानवशास्त्री हैमेनडोर्फ (१९६४)ले १९औँ शताब्दीमा शेर्पा खुम्बु क्षेत्रमा आलुको आगमनले जनसंख्या वृद्धिमा मद्दत पुर्‍याएको र उत्तरी नेपालमा विस्तृत बौद्ध सभ्यताको विकासका लागि आवश्यक कृषि सरप्लसका रूपमा काम गरेको उल्लेख गरेका छन्।’

हाम्रो समाजमा आलु यति साह्रै समाहित भइसकेको छ कि यसलाई विदेशी प्रजाति भनियो भने उल्टै गाली खान बेर छैन। सुदूरपश्चिम नेपालमा ससाना आलुलाई थारू आलु भनेर ब्रान्डिङ भइसकेको छ। त्यस क्षेत्रका पालिकाहरूले यो लोप हुन लागेको ‘रैथाने’ जातको आलुलाई जोगाउन अनेक प्रयास गरिरहेको खबर निरन्तर आइरहन्छन्। अलि वर आउने हो भने बागलुङको ताराखोला क्षेत्रको आलुको प्रसिद्धि र व्यापार ठूलै छ। दोलखाको मुडेको आलुको कुरै छोड्नुहोस्, कास्कीको हेम्जामा ‘रैथाने’ आलु प्रवर्द्धनका लागि महोत्सव नै हुन्छ। राणाकालमा नै आलु नेपालभर फैलियो र राष्ट्रिय तरकारी बन्यो। नेपालमा आलुको प्रतिव्यक्ति खपत ७५ किलोग्राम छ, जुन एसियामा सबैभन्दा बढी हो। नेपालीले खपत गर्ने लगभग ९० प्रतिशत आलु नेपालमा उत्पादन गरिन्छ, १० देखि १२ प्रतिशत मात्र आयात हुन्छ।

आलुलाई पनि सायद नेपालको विविधतापूर्ण जलवायु र पारिस्थितिक प्रणाली मन पर्‍यो र ऊ तराईमा थारू आलु बन्यो अनि लेकमा लेकाली आलु। आज आलु नेपालको एक महत्त्वपूर्ण बाली बनेको छ। आलुको अनुकूलन क्षमता र खेती किसानीमा सहजताले गर्दा होला, आलु नेपाली किसानको पक्का साथी भइदियो। एउटा बाली मात्र नभएर; आलु खाद्य सुरक्षाको आधार बनिदिएको छ। तराईका फाँटदेखि अग्ला हिमालसम्म फैलिएको जटिल भूगोल भएको राष्ट्रमा, जीविकोपार्जनको भरपर्दो स्रोत हुन पुगेको छ आलु।

मलेखुको आलु चपको कुरा गर्नुस् वा पोखराको स्थानीय स्वादिष्ट थिचेको आलु, नेपालमा आलुसँग प्रयोग जारी नै छ, नयाँ नयाँ परिकार बनिरहेकै छन् र नेपाली भान्छालाई समृद्ध बनाउने क्रममा छ, आलु। सायद आलु र नेपालीको सम्बन्ध वसन्त थापा र खिमा रोका मगरको गीतमा भने जस्तै- ‘आलु मीठो तारा खोलाको, हासम् खेलम् गरम् रमाइलो, के भर छ र मर्ने चोलाको?’