राजनीति
विशेष महाधिवेशनबाट चुनिएको कांग्रेस नेतृत्वले पार्टी नीति, उम्मेदवार छनोट, प्रतिज्ञापत्रमाथिको छलफल र चुनावी अभियानमा अपनाएको फरक शैलीले मतदातामा जगाएको उत्साह
“चुनावमा कांग्रेसको पुरानै नेतृत्व लिएर गएको भए जनताले लखेट्ने रहेछन्,” २ फागुनमा काठमाडौंको बत्तिसपुतलीमा सिन्धुलीका पत्रकारहरूको जमघटमा सिन्धुली क्षेत्र नं १ का कांग्रेस उम्मेदवार उज्ज्वल बरालले भनेका थिए। सिन्धुलीका मतदातासँग घरदैलो कार्यक्रम गरेर राजधानी आएका बरालको यो ताजा अनुभवले कांग्रेसको पुरानो नेतृत्वसँग जनता र मतदाता रिसाएको झलक दिन्थ्यो। तर २१ फागुनको चुनावमा कांग्रेस नयाँ सन्देश लिएर होमिएको छ। यसले कांग्रेससँग आक्रोशित मतदाता केही मत्थर भएका छन्। बरालले भनेका थिए, ‘‘बदलिएको कांग्रेससँग मतदाता केही आशावादी बनेका छन्। त्यो आशालाई जोगाउने जिम्मा नयाँ नेतृत्वको हो।’’
कांग्रेसको पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशनमा तत्कालीन पार्टी सभापतिलगायत बहुसंख्यक पदाधिकारी र केन्द्रीय सदस्यले भाग लिएका थिएनन्। नेतृत्वको ठूलो हिस्साले भाग नलिए पनि बहुमत प्रतिनिधि सहभागी भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो भने त्यो कार्यसमितिलाई निर्वाचन आयोगले पनि मान्यता दियो। विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्वमा यसपालि कांग्रेस चुनाव होमिएको छ। चुनावको टिकट वितरण, चुनावी प्रतिज्ञापत्रदेखि सबै काम थापाकै नेतृत्वमा भइरहेको छ। यसले उम्मेदवारलाई चुनाव प्रचारमा जान र आमजनतासँग मत माग्न सजिलो भएको बराल बताउँछन्। सिन्धुली क्षेत्र नं १ का उम्मेदवार बराल आफैँ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सदस्य हुन्। उनी विशेष महाधिवेशनको हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधि पनि हुन्।
कांग्रेसले विशेष महाधिवेशनका माध्यमबाट विगतका कमजोरीको समीक्षासहित आत्मालोचना गरेको थियो भने नयाँ नेतृत्वले पार्टी र सरकार सञ्चालनमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो।
कांग्रेसको विशेष महाधिवेशन २३ र २४ भदौको जेन–जी आन्दोलनको पृष्ठभूमिमा भएको हो। जेन–जी आन्दोलनकै कारण २१ फागुनमा प्रतिनिधिसभाको चुनाव घोषणा भएको हो भने प्रतिधिनिधिसभा विघटन पनि जेन–जी आन्दोलनकै जगमा गरिएको हो। कांग्रेसको विशेष महाधिवेशनले थापा नेतृत्वको नयाँ कार्यसमितिको पदाधिकारी र केन्द्रीय समितिमा अधिकांश नयाँ अनुहार चयन गरेको छ। यसले कांग्रेसलाई पूर्वसभापति शेरबहादुर देउवालगायतका पाका नेताको कब्जाबाट मुक्त गरेको छ भने कांग्रेसवृत्तमा नयाँ उत्साह सञ्चार भएको छ। राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, “कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीलाई नयाँ बनाउन सकिन्छ भन्ने विश्वास बढेको देखिन्छ। बदलिएको कांग्रेसले मतदातालाई आकर्षित गरेको छ। उम्मेदवारलाई पनि मतदाताकहाँ जान सहज भएको देखिन्छ।”

चुनावी प्रचारका क्रममा नेपाली कांग्रेसकी चितवन क्षेत्र २ की उम्मेदवार मीनाकुमारी खरेल। तस्बिर : खरेलको फेसबुक पेज
कांग्रेसले विशेष महाधिवेशनका माध्यमबाट विगतका कमजोरीको समीक्षासहित आत्मालोचना गरेको थियो भने नयाँ नेतृत्वले पार्टी र सरकार सञ्चालनमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो। “जेन–जी आन्दोलनकारीले व्यवस्था परिवर्तन नभई अवस्थामा परिवर्तन खोजेका हुन्। कतिपय नीति, पात्र र कार्यशैलीमा परिवर्तन खोजेका हुन्,” कांग्रेस सभापति थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेल भन्छन्, “त्यही विद्रोहको जगमा कांग्रेसको विशेष महाधिवेशन भएकाले त्यसले पार्टीमा नयाँपन ल्याएको छ । विगतमा कमीकमजोरी भए पनि बदलिएको कांग्रेसले त्यस्ता कमजोरी दोहोर्याउने छैन।”
सभापति थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध खड्काले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तर, खड्काबाहेक विगतमा देउवालाई साथ दिएका कांग्रेस नेतासमेत सभापति थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनावमा उत्रिएका छन्।
पौडेलका अनुसार नयाँ नेतृत्वले गरेको पार्टी सुधारको घोषणाले कांग्रेस उम्मेदवारलाई मतदाताको माझमा पुग्न सहज बनाएको छ। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेसमा भएको नेतृत्व परिवर्तनले पार्टीको स्थानीय स्तरमा सकारात्मक परिवर्तन देखापरेको बताउँछन्। “यसपटकको चुनावमा कांग्रेसबाट निकै कम बागी उम्मेदवार छन् । नयाँ नेतृत्वलाई सबैले नेतृत्वलाई स्वीकार गरेको देखिन्छ,” आचार्य भन्छन्, “यसपालि उम्मेदवार र कार्यकर्ता एकढिक्का भएर चुनावी अभियान सञ्चालन भएको छ।”
विशेष महाधिवेशनले सभापतिबाट हटाएका शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का चुनावी अभियानबाट अलग छन्। सभापति थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध खड्काले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तर, खड्काबाहेक विगतमा देउवालाई साथ दिएका कांग्रेस नेतासमेत सभापति थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनावमा उत्रिएका छन्।

नेपाली कांग्रेसका ललितपुर क्षेत्र १ का उम्मेदवार उदय शमशेर ज़बरा। तस्बिर : शमशेरको फ़ेसबुक पेज
प्रत्यक्षतर्फ १६५ स्थानमा उम्मेदवारी दिएको कांग्रेसमा जम्मा तीन निर्वाचन क्षेत्रमा मात्र बागी उम्मेदवार छन्। कपिलबस्तु १मा आशिष शर्मा, सप्तरी ४ मा सीताराम साह र पर्सा ४ मा रामलखन महतो बागी उम्मेदवार छन्। शर्मा पूर्वमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायका छोरा हुन् भने साह र महतो क्षत्रीय सभापति हुन्। कालिकोटमा स्वतन्त्र उम्मेदवारी दिएका भूपेन्द्रजंग शाही र काठमाडौं १ का बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।
बदलिएको शैली
विगतमा सत्ता सञ्चालनमा ओलोपालो गरेका कांग्रेस, एमाले र माओवादीलाई सत्ताका लागि सिद्धान्तलाई नै तिलाञ्जली दिने गरेको आरोप लाग्दै आएको छ। “सत्ताका लागि कांग्रेसले सिद्धान्तमा सम्झौता गर्छ भन्ने मतदातामा चित्तदुखाइ थियो। त्यसलाई सम्बोधन गर्ने कोसिस भएको छ,” पौडेल भन्छन्।
विशेष महाधिवेशनबाट कांग्रेसले एक्लै चुनावमा जाने प्रस्ताव पारित गरेर आफ्ना मतदातालाई अरू दलको चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यताबाट मुक्त गरिदिएको छ।
कांग्रेसले २०७४ सालको संसदीय चुनावमा मधेसकेन्द्रित दलसँग र २०७९मा माओवादी, नेकपा एकीकृत समाजवादीसहित पाँच दलसँग चुनावी गठबन्धन गरेको थियो। त्यसैगरी कांग्रेसले २०७४को स्थानीय चुनावमा माओवादीसँग र २०७९ सालको स्थानीय तह चुनावमा माओवादीसहित पाँच दलसँग गठबन्धन गरेको थियो। चुनाव गठबन्धनमा सधैँ यताउता गरिरहेका कारण कांग्रेसलाई समर्थन गर्ने मतदातलाई मतदान गर्ने बेला संकट पर्ने गरेको थियो। विशेष महाधिवेशनबाट कांग्रेसले एक्लै चुनावमा जाने प्रस्ताव पारित गरेर आफ्ना मतदातालाई अरू दलको चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यताबाट मुक्त गरिदिएको छ। देशभरिका कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये १०८ जना (करिब दुई तिहाई) नयाँ अनुहार छन्। उनीहरू पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन्।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसको नीति तथा कार्यक्रममाथि खुला छलफल विरलै गर्थे। तर विशेष महाधिवेशनबाट चुनिएका सभापति थापाले मतदातासँग सीधा संवाद थालेका छन्। थापाले ७ फागुनमा कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’माथि राष्ट्रिय सभागृहमा खुला छलफल नै कार्यक्रम आयोजना गरेका थिए। बदलिएको कांग्रेसमार्फत सभापतिले थापाले पुरानो संस्थापनविरोधी चुनावी लहर तोड्न सक्छन वा सक्दैन्, अहिले नै अनुमान गर्न कठिन छ। तर थापाले ‘पुरानो असल कुरा जोगाउनुपर्छ र पुरानो खराबलाई त्याग्न पर्ने,’ दाबीचाहिँ गर्दै आएका छन्। “आज हामीले कांग्रेसलाई बनाउन खोजेको त्यही नै हो,’’ १५ माघमा सर्लाही ४मा आयोजित चुनावीसभामा सभापति थापाले भनेका थिए, ‘‘यो हिजोको कांग्रेस होइन, हामी बदलिएर आएको कांग्रेस हौँ। बदलिएको कांग्रेसले देशलाई बदल्ने संकल्प लिएको छ।’’