प्रतिनिधिसभा निर्वाचन
परिवर्तनको पक्षमा मतदान गरेको उत्साह साट्दै मतदान गर्न अरूलाई उत्प्रेरित गरिरहेका कलाकार
आजको मत, भोलिको परिवर्तन
आज मैले मेरो अधिकार मात्र होइन
जिम्मेवारी पनि पूरा गरेँ
मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्
बिहीबार सर्लाहीको लालबन्दी नगरपालिका-९ बस्तीपुरबाट मतदान गरेपछि अभिनेता विजय बरालको स्टेटस हो यो।
र्यापर बालेन्द्र शाह, अभिनेत्री निशा अधिकारी, गायक तथा अभिनेता प्रकाश सपुत, मोडल रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठलगायत सेलिब्रेटीसमेत उम्मेदवार बनेको निर्वाचनमा अभिनेता बरालजस्तै धेरै कलाकारले उत्साहपूर्वक मतदान गरेका छन्। उनीहरूले मत हालेपछि आफ्नो तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।
अभिनेता हरिवंश आचार्यले काठमाडौँ महानगरपालिका-५ बूढानीलकण्ठबाट मतदान गरेका छन्। मतदानपछि फेसबुकमा तस्बिर राख्दै उनले ‘यो निर्वाचनबाट देशले खोजेको असल र सक्षम नेतृत्व पाउनेछ’ भन्ने आशा पनि व्यक्त गरेका छन्।
रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, दीया मास्के, ऋचा शर्मा, स्वस्तिमा खड्का, सुरक्षा पन्त, वर्षा राउत, विपीन कार्कीलगायतले मतदानपछि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कतिले आफूले मतदान गरेपछि अरूलाई मतदान गर्न उत्प्रेरित गर्ने खालका स्टेटससमेत लेखेका छन्।
बागलुङको काठेखोला गाउँपालिकामा मतदान गरेपछि गायक सपुतले फेसबुकमा लेखेका छन्, ‘स्थिरता, शान्ति र समृद्धिको आशासहित मत राखियो। अधिकार र जिम्मेवारी पूरा गरियो। तपाईंले राख्नुभयो? नछुट्नुस् है।’

मतदान गर्दै प्रकाश सपुत। तस्बिर : सपुतको फेसबुक पेज
अभिनेत्री वर्षा राउतले औँलाको मसी देखाउँदै लेखेकी छन्, ‘मेरो औँलाको दागले मेरो देशमा अब कुनै दाग नलागोस्।’ उनले यस पालिको भोट आशावादी भएर दिएको र अब फेरि भदौ २३ र २४ जस्तो घटना देख्न नपरोस् भन्ने कामनासमेत गरेकी छन्।
कला क्षेत्र जेन-जी आन्दोलनको पक्षमा खुलेर समर्थन गर्ने समूहमा पर्छ। आन्दोलनपछि बनेको सरकारले प्रतिनिधिसभा निर्वाचन घोषणा गरेदेखि नै कलाकारहरूले आन्दोलनको मर्मअनुसार देशको परिवर्तनका लागि मतदान गर्न आग्रह गर्दै आएका थिए। यसमा बालेन्द्र शाहको निकट मित्र मानिने निश्चल बस्नेत र स्वस्तिमा खड्कादेखि ऋचा शर्मा, प्रियंका कार्कीलगायत धेरै कलाकार पर्छन्।
स्वस्तिमाले मतदानपछि लेखेकी छन्, ‘यो पटकको मेरो मत शहीद जेन-जीहरूप्रति समर्पित।’
निश्चल बस्नेतले लेखेका छन्, ‘देशको लागि भविष्यको लागि मतदान गरें, तपाईले चै?’
सुझबुझका साथ मतदान गर्न आग्रह गर्नेमा अभिनेता राजेश हमाल पनि थिए। उनले फेसबुकमा भिडिओ राखेर चुनावको पूर्वसन्ध्यासम्म आइपुग्दा पनि २३ भदौमा भएको कहालीलाग्दो घटना र २४ भदौमा भएको राष्ट्रिय सम्पदाको विध्वंसको जवाफदेही नेपाली जनसमुदायमा अझ प्रस्ट रूपमा नआएको स्मरण गराएका थिए।
मतदानको पूर्वसन्ध्यामा उनले लेखेका थिए, ‘मेरो एक भोटले के नै हुन्छ होला भनेर नसोच्नुहोला। तपाईंको एक भोटले नै हुन्छ जे हुन्छ। त्यसैले समय मिलाएरै भए पनि भोट चै गर्नुहोला है।’
अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि नयाँ पार्टीलाई भोट दिएको संकेत गरेका छन्। ‘मन्दिरमा बसेको छु, आफू वरपर सबै ठूलै पार्टीका चुनाव चिह्नहरू देख्छु बा! आँखै छोप्न मिलेन क्यारे! मेरो भोट चाहिँ कसलाई त? देशको भविष्यलाई।’
अभिनेत्री रेखा थापाले भने निर्वाचनको अघिल्लो साँझ ‘लहड, आवेग, उत्तेजनाभन्दा पनि विवेक पुर्याएर सही निर्णय लिन’ अनुरोध गरेकी थिइन्। ‘भोलि हुने निर्वाचनमा आफ्नो भविष्य निर्माणको लागि सही निर्णय गर्नुपर्छ है! मतदाताहरूले लहड, आवेग, उत्तेजनाभन्दा पनि विवेक पुर्याएर मत हालुम्,’ उनले लेखेकी छन्।
सुझबुझका साथ मतदान गर्न आग्रह गर्नेमा अभिनेता राजेश हमाल पनि थिए। उनले फेसबुकमा भिडिओ राखेर चुनावको पूर्वसन्ध्यासम्म आइपुग्दा पनि २३ भदौमा भएको कहालीलाग्दो घटना र २४ भदौमा भएको राष्ट्रिय सम्पदाको विध्वंसको जवाफदेही नेपाली जनसमुदायमा अझ प्रस्ट रूपमा नआएको स्मरण गराएका थिए।
मध्यपूर्वमा छाएको संकटको सन्दर्भ जोड्दै हमालले भनेका छन्, ‘यो परिस्थितिमा नेपालजस्तो आर्थिक, राजनीतिक अवस्था भएको राष्ट्र अझ संवेदनशील अवस्थामा पुगेको छ। कमजोर अवस्थामा पुगेको छ। यो सबैको पृष्ठभूमिमा भोलि नेपाल चुनावमा जाँदै छ।’
यस पटकको निर्वाचनमा सेलिब्रेटीहरू नयाँ भर्सेस पुराना दल र व्यवस्थाको बहसदेखि मत बदर नहोस् भनेर सचेतना फैलाउनेसम्मका भूमिकामा देखिए।
धेरै सेलिब्रेटीले असहज परिस्थितिमा समेत निर्वाचन गराउन सफल भएकामा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन्। यसले निर्वाचनपछि बन्ने नयाँ सरकार र त्यसले गर्ने काम र कार्यशैलीप्रति पनि उनीहरूको चासो र खबरदारी कायम रहने संकेत गर्छ।