विराटनगर । झापा–५ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। पहिलो रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरले अग्रस्थानमा देखिएका छन्।
हालसम्म २ हजार ३ सय ३ मत गणना हुँदा बालेन्द्र शाहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८५ मत प्राप्त गरेका छन्।
यो मतगणना झापा–५ अन्तर्गत कमल गाउँपालिकाका बाँसबारी मतदान केन्द्र (क र ख) तथा गौरादहस्थित मोती मावि मतदान केन्द्र (क र ख) बाट प्राप्त मतका आधारमा गरिएको हो।
अन्य मतदान केन्द्रहरूको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक नतिजाले बालेन्द्र शाहलाई स्पष्ट अग्रता दिलाए पनि अन्तिम परिणामका लागि थप मतगणना हुन बाँकी छ।