काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा तत्काल मतगणना नहुने भएको छ। निर्वाचन आयोगले मतदानको दुई दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेपनि मतपत्रमा छाप रहेको कारण त्यो मत गणना गर्ने वा नगर्ने विषयमा विवाद भएपछि तत्काल गणना नहुने भएको छ।

धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले आयोगबाट स्पष्ट निर्देशन नआएसम्म मतगणना नहुने जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालयले आजै आयोगलाई पत्राचार गरेकोमा अहिलेसम्म आयोगबाट निर्देशन प्राप्त नभएकाले निर्देशन प्राप्त भएपछि मात्र मतगणना हुने निर्वाचन अधिकृत बरालले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले किशोरी साह कमल कालो सूचीमा परेपछि उनको उम्मेदवारी खारेज गरेको थियो। सोही दिन साहले सर्वोच्चमा रिट दायर गरेका थिए। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधारक रहेका किशोरी २०८० वैशाखदेखि कालोसूचीमा देखिएका छन्। विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख थियो।

कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर किशोरी साह कमलको नाम ४ ठाउँमा रहेको छ। सो सूचीमा उनकी श्रीमती अँजिला साह र किशोरी साह कमलको संयुक्त नाम कालोसूचीमा देखिएको थियो। क्रम संख्या ३८६३५ र कालोसूची नं. ६४२४५ मा सुरुमा कालोसूचीमा परेका छन् । उनको नाम निरन्तर कालोसूचीमा रहेको पाइएको छ।

२०८० असोज १७ गते कमल निर्माण सेवाको तर्फबाट उम्मेदवार किशोरी साह कमल र संजीत कुमार साहको नाम उल्लेख छ। त्यसपछि क्रम संख्या ५२७४६, ५२७५० को कालोसूची नं. क्रमशः ८६३९१ र ८६३९६ मा परेका छन्।

मिति २०८० असोज २१ गतेमा कमल निर्माण सेवा प्रालिबाट किशोरी साह कमल र राजकिशोर महासेठको नाम उल्लेख छ। क्रमसंख्या ५३१०४ मा कालोसूची नं. ८६९३० मा कालोसूचीमा परेका छन्।