तारखोलामा जलविद्युत् आयोजना, स्थानीयको समेत करोडौं लगानी
बागलुङ। बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ। ठाडो खोलाका रूपमा रहेको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन्।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ। यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो। यसअघि समुदायको प्रयासमा ससाना लघु जलविद्युत् सञ्चालनमा थिए।
सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँच वटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन्। जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चार वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्। पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ। यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।
यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेगावाट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ। यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए। यहाँ ३.५ मेगावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र ४.५ मेगावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउँछन्। “मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छभने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “स्थानीयको समेत करोडौं लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ।”