काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको कृति छालबाटोलाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये चयन समितिको सिफारिसअनुसार छालबाटोलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

छालबाटोले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ।

यसैगरी पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि प्रतिष्ठानले जानकारी दिएको छ। भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्यलगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्।

त्यसैगरी पद्मश्री गौरव पुरस्कार यस वर्ष अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन्।

यी पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ। यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने अध्यक्ष लामिछानेले बताए।