ललितपुर। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित रहने यो अधिवेशन ऐतिहासिक महत्वको हुने एमालेले जनाएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन विशेष समारोहबीच बिहान ११ बजे गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयले जनाएको छ। अधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जना सहभागी हुनेछन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। मञ्च सजावट, स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य सेवा, यातायात तथा झाँकी प्रदर्शनका सबै तयारी सकिएको छ।
महाधिवेशनमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सो प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवादको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिनेछ।
उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। संशोधन प्रस्तावमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा हटाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एक तिहाइ पोलिटब्यूरो र १५ पदाधिकारीसहितको स्थायी कमिटी रहने व्यवस्था गरिएको छ। पदाधिकारीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने प्रस्ताव पनि समावेश छ।
महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्। उक्त प्रतिवेदनमा पार्टी निर्माणमा देखिएका चुनौती, समाधानका उपाय, जनविश्वास निर्माण रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजनाहरू समेटिएका छन्।
अधिवेशनमा पार्टीका विभिन्न आयोग र परिषद्को प्रतिवेदन पनि प्रस्तुत गरिनेछ। कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ। प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य तथा सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माण लगायत जिम्मेवारीहरू तोकिएका छन्।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूलाई महाधिवेशनको सफलताका लागि सहकार्य गर्न आग्रह गरिएको छ।