काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक तथा उदयपुर सिमेन्ट उद्योगका पूर्वमहाप्रबन्धक सुरेन्द्र कुमार पौडेललाई नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरिएको छ। शुक्रबार अर्थमन्त्रीस्तरीय निर्णयमार्फत उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो।
पौडेलले अघिल्ला जिम्मेवारीहरूमा रहँदा संस्थागत सुधारका महत्वपूर्ण पहल गरेका थिए। उदयपुर सिमेन्टमा दुई वर्षे कार्यकालमा उनले उद्योगलाई पहिलोपटक नाफामा ल्याएका थिए। आव ०७०/७१ मा २ करोड र ०७१/७२ मा १२ करोड रुपैयाँ नाफा कमाएको उद्योग उनको कार्यकालपछि पुनः घाटामा गएको थियो।
त्यस्तै, नेपाल आयल निगममा कार्यकारी निर्देशकका रूपमा रहँदा उनले पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेका थिए।
पूर्वअध्यक्ष देवराज ढुंगाना सुरक्षण मुद्रणकोषको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै दोहोरो जिम्मेवारी लिएको विवाद सार्वजनिक भएपछि उनलाई हटाएर पौडेलको नियुक्ति गरिएको हो।