२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको स्पष्ट रूपमा बताएका छन्।

प्रचण्डले भोलि काठमाडौंसहित देशका विभिन्न ठाउँमा जेन–जी युवाहरूले आयोजना गर्न लागेको प्रदर्शन स्वाभाविक र कानुनी दायराभित्र रहेको उल्लेख गर्दै, सरकारलाई प्रदर्शनमाथि कुनै बल प्रयोग नगर्न चेतावनी दिएका छन्।

यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले प्रचण्डलाई प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेको विषय सम्झाउँदै भने, “एकादेशमा टिकटक पनि बन्द भएको थियो। हजुर पीएम हुँदा म मेयर थिएँ, काम हजुरबाट केही भएन, कमरेड!” साथै शाहले गुनासो गर्दै थपे, “मलाई एक दिनको मौका दिएको भए म काठमाडौंका खोलानाला नै फेरिदिन्थेँ।”

मेयर शाहले आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पोष्टमा पनि प्रतिक्रिया जनाएका थिए। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा देउवाले सम्बोधन गरेकोबारे उनले प्रश्न गर्दै भने, “यो पोष्ट कुन भीपीएनबाट हो, नेपाली कि विदेशी?”