काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई जेन–जी युवाहरूको आवाज सुन्न आग्रह गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. कोइरालाले भने, “देशमै बसेर केही गर्छु भन्ने होनाहार जेन–जी युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका छन्। उनीहरूको आवाज सुन्न हिम्मत गरौं र आफूलाई परिवर्तन गरौं। नत्र पछि पछुताउनु पर्ने विकल्प पनि बाँकी रहन्न।”

उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र स्वतःस्फूर्त सडक आन्दोलनबीच स्पष्ट अन्तर रहेको उल्लेख गर्दै यसलाई राजनीतिक दाउ–पेचको हिस्सा नबनाइने चेतावनी दिएका छन्। उनका अनुसार जेन–जी युवाहरू आफ्नै स्वर र उद्देश्यका लागि सडकमा उत्रिएका हुन्, जसमा कुनै पनि दल वा नेताले आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाउनु हुँदैन।

सरकारले दर्ता प्रक्रियामा नआएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेन–जी युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलासहित देशका प्रमुख सहरहरूमा प्रदर्शनको आह्वान गरेका छन्। यो आन्दोलनमा २८ वर्ष मुनिका युवाहरूको सक्रियता प्रमुख रहेको बताइएको छ।

डा. कोइरालाले सरकारलाई चेतावनी दिँदै युवाहरूको माग सुन्न र सम्बोधन गर्न हिम्मत गर्नुपर्ने बताए। उनका अनुसार, युवाहरूको आवाजलाई उपेक्षा गरेपछि सरकार र नेतृत्वले पछुताउनु पर्ने अवस्था सिर्जना हुन सक्छ।

यसअघि सामाजिक सञ्जालमा सक्रिय रहेका जेन–जी युवाहरूले देशभित्र बढिरहेको भ्रष्टाचार र दर्ता नभएका सञ्जालमाथि रोक लगाउने निर्णयको विरोध गर्दै प्रदर्शनको तयारी गरिरहेका छन्।