काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२३ भाद्र २०८२
अ+
अ-

मुस्ताङ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरलानाकाबाट चिनियाँ स्याउ आयातमा रोक लगाइएको छ। उपल्लो मुस्ताङको लोमान्थाङमा सोमबार सम्पन्न सरोकारवालाहरूको बैठकले स्थानीय स्याउ उत्पादक किसानको हितमा कोरलानाकाबाट स्याउ ल्याउन नपाउने मौखिक सहमति गरेको हो।

बैठकमा लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रका गाउँपालिकाका अध्यक्ष, इलाका प्रशासन कार्यालय, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट र व्यापारीहरूले सहभागी थिए।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले स्याउ आयातले स्थानीय कृषकहरूलाई असर गर्ने भएकाले यस्तो निर्णय गरिएको बताए। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले लिखित निर्णय चाँडै सार्वजनिक गरिने जानकारी दिए।

कोरलानाका नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो भने अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। भन्सार कार्यालयले आवश्यक पूर्वाधार तयार गरी मालवस्तु आयात–निर्यातमा सहजता प्रदान गरेको छ।